'ढुंगा, काठ बिक्रि गर्न नपाउने, अनि देशको विकाश कसरी गर्ने ?' - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

‘ढुंगा, काठ बिक्रि गर्न नपाउने, अनि देशको विकाश कसरी गर्ने ?’



काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंक र कर्मचारीहरूले नेपालका ठूला परियोजनामा विदेशी लगानी भित्र्याउने हेजिङको विषयमा नबुझेको आरोप लगाएका छन् ।

शर्माले आफू ऊर्जामन्त्री भएको बेला नेपालमा हेजिङको आवश्यकता देखेर हेजिङ चाहिन्छ भन्दा मन्त्रीले देश बर्बाद बनायो भन्ने आरोप लागेको बताए ।शुक्रबार नेपाल उद्योग परिसंघले आयोजना गरेको पूर्वाधार सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

विगत लामो समयदेखि नेपालका ठूला परियोजनामा विदेशी लगानी भित्र्याउन हेजिङ आवश्यक भनेर नियमवाली बनाउने कुरा अगाडि बढे पनि राष्ट्र बैंक ब्युरोक्रेसीलाई बुझाउन नसक्दा ठूलो लडाइँ लडेर अहिले मन्त्रिपरिषदबाट हेजिङसम्बन्धी नियमावली पास भएको मन्त्री शर्माले जानकारी दिए ।

मन्त्री शर्माले पहाड खनेर ढुंगा बिक्री गरौं भन्ने प्रस्ताव गर्दा देश बिक्री गरेको आरोप लाग्ने गरेको बताए । आफ्नो देशमा भएको स्रोत प्रयोग नगरी कुनै पनि देशमा लगानी बढ्न र पुँजी निर्माण गर्न नसक्ने मन्त्री शर्माले दाबी गरे ।

‘वैदेशिक लगानी ल्याउनको लागि परियोजनाको तयारी र परियोजना प्रतिको विश्वास हुनुपर्छ । हाम्रो नीति, कानून र व्यवहारका कारणले विश्वास नभएको अवस्था छ । सरकारले वैदेशिक ऋण कति लिने भन्ने प्रश्न छ । ऋण लिने तर मुलुकको उत्पादन नबढाउने, हाम्रो ढुंगा बिक्री गर्न नपाउने, काठ काट्न नपाउने, हाम्रो जडिबुटी बिक्री गर्न नमिल्ने ? हाम्रो रिसोर्स प्रयोग गर्न नहुने अनि विकास गर्ने केबाट ? गर्ने कसरी ? गम्भीर प्रश्न छ’, उनले भने ।