चितवन पुगेर देउवाले भने- ठूला कुरा नगरौँ, गठबन्धन विरुद्ध नबोलौँ
प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनलाई टुटाउन षड्यन्त्र भइरहेको बताएका छन् । तर, कुनै पनि हालतमा गठबन्धन नटुट्ने उनले दाबी गरे । ‘गठबन्धन कुनै हालतमा टुट्दैन र तोड्नु हुँदैन पनि,’ देउवाले भने ।
नेपाली कांग्रेस चितवनले बिहीबार आयोजना गरेको ‘जनताको साथमा कांग्रेस अभियान’को समापन एवं विशेष सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धनको विरोधमा नबोल्न कांग्रेसका नेता तथा कार्यकर्तालाई आग्रह गरे ।
गठबन्धन तोड्नु भनेको कांग्रेस पार्टीलाई सिध्याउने षड्यन्त्र भएको जनाउँदै देउवाले भने, ‘बल्ल–बल्ल पार्टी बलियो हुँदै छ, यसलाई सिध्याएर के हुन्छ । यसैले गठबन्धनको विरुद्धमा बोल्ने कुरा छैन ।’
गठबन्धन गर्दा पार्टीलाई बढीभन्दा बढी फाइदा हुने गरी लाग्नुपर्नेमा देउवाले जोड दिए । ‘गठबन्धनमा बढीभन्दा बढी फाइदा लिन हामी प्रयास गर्छौँ, तर गठबन्धन कुनै हालतमा टुट्दैन, तोड्नुहुँदैन । यसमा ठूलो सहयोग भएको छ । गठबन्धन तोड्ने कुरा गर्नुहुँदैन,’ देउवाले भने ।
गठबन्धनका कारण कांग्रेसले प्रधानमन्त्री, मुख्यमन्त्री र मन्त्री प्राप्त गर्ने अवसर प्राप्त गरेको जनाउँदै देउवाले गठबन्धन भएर धेरै निर्वाचित हुँदै गर्दा त्यो अवसर फेरि पनि प्राप्त हुने बताए । पार्टीका नेता तथा कार्यकर्तालाई एकढिक्का भएर निर्वाचनमा होमिन आग्रह गरे ।
गठबन्धन भएर सरकार बनेकै कारण नेकपा (एमाले) को एकलौटी अन्त्य भएको देउवाले बताए । ‘उनीहरूको एकलौटी चलेको छैन, मनोपोली चलेको छैन,’ देउवाले भने । हिजो बाहिर हुँदा तत्कालीन एमालेको सरकारले गरेको क्रियाकलापको स्मरण गर्न नेता तथा कार्यकर्तालाई आग्रह गर्दै उनले गठबन्धन अघि बढ्दै गर्दा सबै ठाउँमा कांग्रेसको सरकार बन्ने सम्भावना रहेको बताए ।
‘हिजोको अवस्था कस्तो थियो । ओली सरकारलाई हटाउनुपर्यो, हटाउनुपर्यो भनेको होइन सबैले,’ देउवाले भने, ‘अहिले यो हुँदैन, त्यो हुँदैन भन्नु हुँदैन । कांग्रेसलाई बलियो र ठूलो पार्टी बनाउन गठबन्धन आवश्यक छ, भ्रमको पछाडि नलाग्न पनि आग्रह गर्दछु ।’
कतिपयले एमसिसीसँगै अमेरिकी सेना बस्छ भनेर भ्रम फैलाएकामा आपत्ति जनाउँदै उनले भने, ‘खै विदेशी सेना आयो त ? अहिले विदेशी सेना आएको छ त ? यस्तो पनि कुरा पत्याएर हिँड्ने हो ? झुटा आक्षेप लगाउने र प्रचार गरेर पार्टीलाई सिध्याउन खोजेका हुन् । झुटा प्रचार गरेर हाम्रो पार्टीलाई कमजोर बनाउने काम भइरहेको छ, षड्यन्त्र भइरहेको छ ।’
वर्तमान सरकारले स्थानीय तहको निर्वाचन निष्पक्ष, स्वतन्त्र र भएरहित वातावरणमा सम्पन्न गरेको र अगामी मङ्सिरमा हुने प्रदेश र सङ्घको चुनाव पनि शान्तिपूर्ण, स्वतन्त्र र निष्पक्षरुपमा सम्पन्न हुने उलने बताए । सरकारले नेपालको संविधान कार्यान्वयनलाई उच्च प्राथमिकता दिएको उनको भनाइ थियो ।