गठबन्धनबाट बाहिरिने जसपाको तयारी, एमालेसँग हुनसक्छ सहकार्य - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

गठबन्धनबाट बाहिरिने जसपाको तयारी, एमालेसँग हुनसक्छ सहकार्य



काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) गठबन्धनबाट बाहिरिने भएको छ । मधेस प्रदेशका ३२ मध्ये कम्तीमा आधा सीट नपाए जसपा बाहिरिने तयारी गरेको छ ।

पार्टी अध्यक्ष उपेन्द्र यादवले कार्यदलमा रहेका सदस्यहरूमार्फत गठबन्धनका शीर्ष नेतृत्वलाई समग्र तराईमा २० सीट र पहाड तथा सहरमा समेत गरी २५ सीटको माग गरेका छन् । गठबन्धनले जसपालाई २५ सिट दिनसक्ने अवस्था नभएकाले जसपा बाहिरिने तयारी गरेको स्रोतको दाबी छ ।

यादवले बुधबार वीरगञ्जको एउटा कार्यक्रममा पनि सम्मानजनक सीट बाँडफाँट नभए एक्लै चुनाव लड्ने भन्दै त्यसको लागि तयारी अवस्थामा रहन कार्यकर्तालाई आग्रह गरेका थिए । कार्यदलमा रहेका जसपाका नेताहरू रामसहाय यादव र रकम चेम्जोङले पनि पार्टीको बटमलाइन सुनाएका छन् ।

जसपाले मधेसमा एक्लै लड्दा पनि १२ सीट जित्ने भन्दै गठबन्धनमा त्यो भन्दा तल झरेर सीट लिँदा समानुपातिक मत पनि घट्ने र उम्मेदवारका आकांक्षी नेताहरु एमाले तथा अन्य पार्टीमा गएर चुनाव लड्ने खतरा उपेन्द्रले देखेका छन् । उनले स्थानीय चुनावको आँकडा समेत पेस गर्दै मधेसमा आफ्नो पार्टी कांग्रेस एमालेको हाराहारीमा रहेको बताएका छन् ।

जसपाले मधेस प्रदेशमा कम्तिमा १५ सीट दाबी गरेको छ । त्यस्तै प्रदेश १ को मोरङ, सुनसरी र धनकुटामा एक-एक सीट दाबी गरेको छ । वागमतीको काठमाडौंमा एक सीट जसपाको दाबी छ भने लुम्बिनीको पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु र बाँकेमा एक-एक सीट दाबी गरेको छ ।

यदि सत्ता गठबन्धनबाट बाहिरिएको खण्डमा जसपाले नेकपा एमालेसँग गठबन्धन गर्ने समेत तयारी गरेको बताइएको छ । यसअघि नै जसपा अध्यक्ष उपेन्द्र यादवले एमाले अध्यक्ष ओलीसँग भेटेर यस विषयमा छलफल गरेको समेत स्रोतको दाबी छ ।