सन्दीपलाई क्यानको साथ
काठमाडौँ- नेपाल क्रिकेट संघले सन्दीप लामिछनेमाथि तत्कालै कुनैपनी कदम नउठाउने भएको छ ।
राष्ट्रिय क्रिकेट टोलीका कप्तान लामिछानेमाथि लागेको नाबालिका करणी आरोपका विषयमा नेपाल क्रिकेट संघ (क्यान)ले तत्काल केही छानबिन नगर्ने बताएको छ ।
क्यानले कप्तानबाट लामिछनेलाई निलम्बन गर्ने तयारी गरिसकेको हल्लाबीच क्यानले तत्कालको लागि कुनै निर्णय नलिने प्रष्ट पारेको छ ।क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपलाई आरोप मात्र लागेको र अनुसन्धानकै क्रममा रहेकाले यस विषयमा क्यानले तत्काल केही नगर्ने बताए ।
‘सन्दीपको बारेमा अहिले पुष्टि भइसकेको छैन, यो सुनियोजित पनि त हुन सक्छ, यदी सन्दीपले अनुशासन नै तोडेको हो भने त कानुनी कारबाही हुनुपर्छ,’ क्यान अध्यक्ष चन्दले भने ।
उनले कानुनीरुपमा पुष्टि नभइञ्जेल सन्दीपलाई निलम्बन वा कुनै पनि किसिमको कारबाही नगर्ने बताए ।
महानगरीय प्रहरी वृत्त गौशालामा परेको जाहेरीमा स्याङ्जा आरुचौर स्थायी घर भई हाल काठमाडौंको बूढानीलकण्ठ बस्ने सन्दीपले बालिकालाई यही भदौ ५ गते काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा घुमाएको र सोही दिनको राति काठमाडौँको एक होटलमा ल्याएर जबर्जस्ती करणी गरेको आरोप छ ।
राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेट खेल्नका लागि अहिले वेस्टइण्डिजको जमैकामा छन् । त्यसअघि सन्दीपसहितको नेपाली राष्ट्रिय क्रिकेट टोली केन्यासँग तीन एक दिवसीय र पाँच टि–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने यही भदौ ६ गते केन्या गएका थिए ।