अभियोग पुष्टि भए सन्दीपलाई हुनसक्छ १२ वर्ष कैद, यस्तो छ कानुनी प्रावधान - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

अभियोग पुष्टि भए सन्दीपलाई हुनसक्छ १२ वर्ष कैद, यस्तो छ कानुनी प्रावधान



काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई लागेको अभियोग पुष्टि भए १२ वर्षसम्म कैद सजाय हुने देखिएको छ। सन्दीपमाथि नाबालिगलाई जबर्जस्ती करणीको आरोप लागेको । यो अभियोग पुष्टि भए १२ वर्षसम्म कैद सजाय हुनसक्ने मुलुकी अपराध संहितामा उल्लेख छ।

संहिताको दफा २१९ को उपदफा (३) (घ) मा पीडित १६ देखि १८ वर्ष उमेरको भएमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। उपदफा २ ले १८ वर्षभन्दा कम उमेरका किशोरीसँग सहमतिमै सम्बन्ध भए पनि त्यसलाई जबर्जस्ती करणी भएको मानिने व्याख्या गरेको छ।

सन्दीपविरुद्ध मंगलबार १७ वर्षीया एक किशोरीले प्रहरीमा जाहेरी दर्ता गराएकी छन्। जाहेरीअनुसार सन्दीपले यही भदौ ५ गते कफी पिउनका लागि भेट्न बोलाएर नगरकोट पुर्‍याई मध्यरातमा काठमाडौंको ल्याएर एक होटलमा किशोरीलाई जबर्जस्ती करणी गरेका छन्।

गौशाला प्रहरी वृत्तमा जाहेरी परेपछि मंगलबार नै प्रहरीले किशोरीको स्वास्थ्य जाँच गराइसकेको छ। जाहेरी परेपछि प्रहरीले आज बिहान विज्ञप्ति जारी गर्दै यस विषयमा सुक्ष्म अनुसन्धान भइरहेको बताएको छ। प्रहरीले जाहेरीसँग पेश भएका प्रमाण तथा घटना भएको होटलका कर्मचारीसँग पनि सोधपुछ थालेको छ। होटलको सीसीटीभी फुटेज संकलनको काम पनि प्रहरीले सुरु गरेको छ।