प्रहरीले भेट्टायो सन्दीप र बालिका होटलमा प्रवेश गरेको सीसीटिभी फुटेज - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

प्रहरीले भेट्टायो सन्दीप र बालिका होटलमा प्रवेश गरेको सीसीटिभी फुटेज



काठमाडौ- नेपाली किक्रेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीमा बलात्कारको उजुरी परेपछि प्रहरीले जाहेरीकर्ताको किशोरीको स्वास्थ्य परीक्षण र होटलको मुचुल्का उठाएको छ।

घटना भएको भनिएको १६ दिनपछि परेको उजुरी उपर जिल्ला प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले घटना भएको भनिएको तिलगंगास्थित एक होटलमा गएर मुचुल्का तयार गरेको हो।

होटल सञ्चालकसँग बयान लिँदै प्रहरीले सन्दीप र जाहेरीकर्ता प्रवेश गरेको सीसीटीभी फुटेज समेत लिएको जनाइएको छ। जाहेरीकर्ताले किशोरीले ०७९ भदौ ५ गते राती जबरजस्ती करणी गरेको आरोप उल्लेख गरेकी छिन्।

मंगलबार (२१ भदौ) मा प्रहरी वृत्त, गौशालामा उनले जाहेरी दिएकी हुन्। जाहेरीलगतै ती किशोरीको प्रहरीले एकद्धार संकट व्यवस्थापन केन्द्रमा स्वास्थ्य परीक्षण गराएको छ।

घटनाबारेमा थप अनुसन्धान अघि बढाइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआइजी टेकप्रसाद राईले बताए। उनले भने, ‘‘पीडितको स्वास्थ्य परीक्षण सकेर थप अनुसन्धान अघि बढाइएको छ। घटना भएको भनिएको स्थानको प्रमाण संकलन भएको छ। थप अनुसन्धान भइरहेको छ।’’

सन्दीपविरुद्ध १७ वर्षीय नाबालिगले बलात्कार गरेको आरोप सहित प्रहरीमा उजुरी दिएकी हुन्।

दिउँसो भक्तपुरको नगरकोट र विभिन्न स्थानहरूमा घुमाएर राती ११ काठमाडौंको होटलमा ल्याई जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ।

काठमाडौंको एक कलेजमा अध्ययनरत ती किशोरी सन्दीपको ‘फ्यान’ थिइन्। उनीहरुबीच सामाजिक सञ्जाल स्न्यापच्याट र ह्वाट्स एपमार्फत कुराकानी हुने गरेको किशोरीले बताएकी छिन्।

लामिछाने अहिले नेपालमा छैनन्। उनी ६ भदौमा टी–२० सिरिज खेल्नका लागि केन्या गएका हुन्। केन्यामा पाँच खेलको टी–२० सिरिज खेलेपछि उनी वेस्ट इन्डिजको क्यारेबियन प्रिमियर लिग खेल्न गएका थिए। उनी अहिले २५ वर्षका छन्।