गठबन्धनमा माओवादीलाई ६० सिट, कांग्रेसलाई ८० मात्रै !
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधवारसम्म सिट बाँटफाँट टुंगो लगाउने बताएका छन् ।
मंगलवार धनगढी विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले मंगलवार दिनभर कार्यदललाई काम गर्न जिम्मा दिइएको र बुधवार शीर्ष नेताहरू बसेर त्यसलाई टुंगोमा पुर्याउन लागिएको बताए ।
‘सिट संख्या र निर्वाचन क्षेत्र एकैपटक टुंगो लगाउने भनेर लागिरेहका छौं । सबै पार्टीका साथीहरू लागिरहनुभएको छ । कार्यदललाई आजसम्मको समय दिइएको छ । भोलि शीर्ष नेताहरू बसेर त्यसलाई टुंगो लगाउने भनेका छौं,’ प्रचण्डले भने ।
माओवादी केन्द्रले प्रतिनिधि सभामा ६० सिटमा दाबी गरेको र त्यसकै वरिपरि सहमति जुट्ने आफूले विश्वास लिएको प्रचण्डले बताए । ‘नेपाली कांग्रेसले शुरूमा १०० सिटमा दाबी गरेको थियो । अहिले ८० सिटको आसपासमा सहमत हुने सम्भावना छ । हामीले ६० सिटमा दाबी गरेका हौं । त्यसमा केही तलमाथि होला तर त्यसकै वरिपरि हुन्छ भन्ने विश्वास छ,’ प्रचण्डले भने ।
चुनावमा तालमेल गरेर जाने अन्तिम तयारी भइरहेको उनले बताए ।