कुनैपनि दलसँग गठबन्धन नगर्ने राजेन्द्र लिङ्देनको घोषणा
राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीले कुनैपनि दलसँग आधारभुत रुपमा गठबन्धन नगर्ने घोषणा गरेका छन्।
नेपालगन्जमा सोमबार बिहान आयोजित पत्रकार सम्मेलनमा उनले आवश्यकता अनुसार कुनै दलसँग सिटको आधारमा सहकार्य गरेर मात्र अगाडि बढ्न सक्ने बताए।
अहिलेसम्म नेकपा एमालेसँग सहकार्य गर्ने विषयमा छलफल अघि बढिरहेको उनले जानकारी दिए। ‘समाचारको रुपमा सुनाउने गरी ठोस निर्णय भएको छैन, एमालेसँग केही छलफल भएको छ, कुनै ठोस आकार लिएको छैन,’ अध्यक्ष लिङ्देनले भने ‘पार्टीको अध्यक्ष, महामन्त्री, उपाध्यक्षको सिट सुरक्षित नै हुन्छन् भन्ने तपाईले बुझनु भएकै छ।’
राप्रपाले विगतमा जस्तो देशभर सिट नछाड्ने संकेत गरे। सहकार्य गर्ने दललाई एउटा सिट छाड्ने र अर्को सिट आफुले लिने गरी तालमेल गर्ने बताए।
देशलाई माया गर्ने राष्ट्रवादी शक्तीबीच सहकार्य गरेर अगाडि जाने कुरा चलिरहेको बताउँदै भने, ‘एजेण्डामा सम्झौता गर्ने होईन, सिटमा तालमेल मात्रै गर्ने हो।’ पछिल्लो समयमा मुलुकमा वैदेशिक हस्तक्षेप बढिरहेको अध्यक्ष लिङ्देनले जिकिर गरे।
सञ्चारकर्मीको प्रश्नमा उनले ऐन नै संसोधन गरेर संसदको आयु मंसिर ४ गते पछिसम्म पनि लम्ब्याउन खोजेपछि आफू त्यो अनैतिक काममा सामेल नहुने गरी संसद पदबाट राजीनामा घोषणा गरेको लिङ्देनले प्रष्ट्याए।
‘मंसिर गते ४ पछि पनि संसद कायम राख्ने गरी ऐन संशोधनको प्रस्ताव ल्याइयो, यो अति नै भयो, सांसद हुँ भन्न पनि लाज लाग्यो, त्यही भएर संसदमा गएर जानकारी गराएको हुँ,’
उनले भने ‘अरुले जे गरुन् म यसमा सामेल हुँदैन, यो अनैतिक मात्र नभएर घोर अनैतिक काम हो।’ तर अहिले उक्त संसोधन प्रस्तावलाई सरकारले स्थगित गर्ने कुराको सूचना आफूलाई आएको बताए। प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचन घोषणा भएपछि संसदलाई लम्ब्याउन नहुने र चुनावी सरकार बनाउनुपर्ने आफूहरुको प्रस्तावलाई सुनुवाई नगरिरहेको अवस्थामा ऐन संशोधन गरेर नै संसदको आयु थप्न खोजिएपछि राजिनामा घोषणा गरिएको बताए।
‘संसदमा गएर भत्ता पचाउने, उपस्थिती जनाउने र संसद हुँ भन्ने लाज लाग्यो, त्यसैले राजिनामा घोषणा गरेको हुँ, राष्ट्रिय प्रजातन्त्र पार्टी यस्ता अनैतिक काममा सामेल हुन सक्दैन,’ उनले भने। बर्दियामा आयोजना हुन लागेको पार्टीको कार्यक्रममा सहभागी हुन अध्यक्ष लिङ्देन सहित पार्टीका शिर्ष नेताहरु नेपालगन्ज आईपुगेका थिए।