रामचन्द्र पौडेललाई आफ्नै निर्वाचन क्षेत्रमा धक्का
तनहुँ- आसन्न निर्वाचनका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आफ्नै निर्वाचन क्षेत्रमा धक्का लागेको छ ।
निर्वाचनका लागि उनी आफ्नै जिल्लामा सर्वसम्मत सिफारिस हुन सकेनन् । निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि पौडेलसहित ३ जनाको नाम पार्टीले सिफारिस गरेको छ ।
कांग्रेस तनहुँले पौडेलसहित केन्द्रीय सदस्य शंकर भण्डारी र गोविन्द भट्टराईको नाम पनि सिफारिस गरेको छ । क्षेत्रीय कार्यसमितिबाट सिफारिस भई जिल्लामा आएको नामावली केन्द्रमा सिफारिस गरिएको पार्टीका जिल्ला सचिव लक्ष्मीभक्त खनालले बताए ।
खनालका अनुसार समानुपातिकतर्फ रामचन्द्र पोखरेल, मिरा जोशी र यमुना खड्का वि.कको नाम सिफारिस गरिएको छ ।
प्रधानमन्त्रीको दौडमा रहेका वरिष्ठ नेता पौडेल गृहजिल्लामै सर्वसम्मत उम्मेदवार सिफारिस हुन नसक्दा उनको राजनीतिक भविष्यका विषयमा चर्चा चल्न थालेका छन् ।
पौडेल भने ‘अबको प्रधानमन्त्री म नै हो’ भन्दै गृह जिल्लामा सक्रिया देखिन्छन् । विशेषगरी जिल्लाका ग्रामीण क्षेत्रमा पछिल्लो समय उनको दौडधुप बढी देखिएको छ ।