शेखर कोइराला भन्छन्- पार्टीमा अब विद्रोह गर्छौँ, प्रचण्डलाई पनि सुनाईसकेँ - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

शेखर कोइराला भन्छन्- पार्टीमा अब विद्रोह गर्छौँ, प्रचण्डलाई पनि सुनाईसकेँ



काठमाडौँ- कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धन जोगाउन लचकता देखाइरहेका बेला कांग्रेसभित्रै शेखर कोइराला समूहले प्रतिनिधिसभाको १ सय ६५ सिटमध्ये सयभन्दा कममा सम्झौता गरेमा पार्टीभित्रै विद्रोहको वातवरण उत्पन्न हुने चेतावनी दिएको छ ।

सय सिट दिन गठबन्धनका अन्य चार दल तयार नभएपछि देउवाले भने लचकता बढाइरहेका छन् । गत बुधबारको बैठकमा कांग्रेसले ८८ सिट लिने र त्यसमध्ये लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोको लागि दुई निर्वाचन क्षेत्र छाड्ने देउवाको प्रस्ताव थियो । त्यसमा समझदारी नभएपछि आज अपराह्न ३ बजे पुन: बैठक बस्न लागेको छ ।

कांग्रेस नेता शेखर कोइरालाले भने सय सिटको अडानबाट पछि हट्न नहुने भन्दै त्यसो गरिए कांग्रेसका आकांक्षीहरुलाई व्यवस्थापन गर्न कठिनाइ हुने बताए । कांग्रेसमा विद्रोह आउने स्थितिले गठबन्धनलाई पनि लाभ नहुने भन्दै कोइरालाले आफ्नो कुरा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई समेत सुनाएको बताए ।

आजै अपराह्न ३ बजे गठबन्धनको बैठक बस्दैछ । गठबन्धनको बैठक बस्नुअघि बिहान देउवा र दाहालबीच ‘वान टु वान’ छलफल समेत भएको छ ।

कोइरालाले पार्टीभित्रको टिकट वितरण पनि न्यायोजित रुपमा हुनुपर्ने बताए । टिकट वितरणमा न्यायोजित हुन सकेन भने भागबण्डाको प्रश्न उठ्ने बताए ।

‘अझै मैले भागबण्डाको कुरा गरिरहेको छैन । जहाँ जसले जित्ने बलियो आधार छ, उसलाई कुन गुटको भन्ने कारणबाट रोक्ने होइन । जित्न सक्नेलाई टिकट दिनुपर्छ, यसो गर्दा न्यायोजित हुन्छ, न्यायोजित निर्णय लिदा सम्म भागबण्डा खोज्ने काम हुन्न,’ कोइरालाले थपे,‘भातृसंस्थाका अध्यक्ष र स्थनीय तहको निर्वाचनमा उम्मेदवार छनोट गर्दा न्यायोजित हुन सकेको छैन । अब न्यायोजित ढंगले निर्णय गर्नुहोला भन्ने आश छ ।’