सरकारी अस्पताल सुधार गर्ने बालेनले योजनामा स्वास्थ्य मन्त्रीले गरेनन् सहयोग - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

सरकारी अस्पताल सुधार गर्ने बालेनले योजनामा स्वास्थ्य मन्त्रीले गरेनन् सहयोग



काठमाडौं- महानगरपालिका सुधार्न एक्सनमा उत्रिएका मेयर बालेन्द्र शाहको अबको एक्सन सरकारी अस्पतालमा हुने भएको छ ।

तर सरकारी अस्पताल सुधारको योजना लिएर पुगेका मेयर शाहले तत्काल सुधारमा लाग्नुपर्ने बताउँदा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले भने तदारुकता देखाएनन ।

स्वास्थ्य सेवा सुधारको खाका लिएर मेयर शाह स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङसँग पुगेका थिए । तर मन्त्रीले भने उनीहरूलाई समय दिएकाले केही समय कुर्नुपर्ने बताएका छन् ।

महानगरपालिकाभित्र रहेका ठूला सरकारी अस्पतालमा सेवा प्रवाह राम्रो नभएको, फोहर व्यवस्थापन नभएको, शुल्क महँगो भएको लगायतका गुनासा आएको भन्दै मेयर शाहले स्वास्थ्य मन्त्रीलाई भेटेका हुन् ।

छलफलमा स्वास्थ्य मन्त्री खापुङ, राज्यमन्त्री हिराबहादुर केसी, स्वास्थ्य सचिव, स्वास्थ्य सेवा विभागका महानिर्देशक, वीर अस्पताल, ट्रमा सेन्टर, प्रसूति गृह, सिभिललगायतका अस्पतालका निर्देशक सहभागी थिए ।

मेयर शाहका कुरा सुनेपछि मन्त्री खापुङले आफूले यसअघि नै सबै अस्पतालका निर्देशकलाई एक महिनाभित्र गुनासो सम्बोधन हुने गरी काम गर्न निर्देशन दिएको बताएका छन् ।

निर्देशकहरूले नै एक महिनाको समय मागेको र त्यो समयसम्म कुर्ने र प्रगति सन्तोषजनक नपाइएमा थप कदम चाल्ने मन्त्री खापुङको भनाइ थियो ।

छलफलमा मेयर शाहले अस्पतालको अनुगमनमा जाने प्रस्ताव गरेका थिए, जवाफमा मन्त्री खापुङले अस्पतालका निर्देशकहरूले मागेको एक महिनाको समय कुर्न र त्यसपछि अनुगमनमा जाँदा उपयुक्त हुने बताएका छन् ।

अस्पतालहरूमा फोहर, शौचालय छिर्नै नसकिने अवस्था, बेडका खोल नफेरिने, कर्मचारीले रुखो व्यवहार गर्नेलगायतका गुनासो आएको मेयर शाहले बताएका थिए ।