माधव नेपालको चेतावनी- पार्टीलाई फाईदा नभए गठबन्धनमा बस्दैनौँ - Himal Post Himal Post
  • १ असार २०८३, सोमबार
  •      Mon Jun 15 2026
Logo

माधव नेपालको चेतावनी- पार्टीलाई फाईदा नभए गठबन्धनमा बस्दैनौँ



काठमाडौं- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनभित्र सबै सिट अरुले लिएर उब्रिएको दिने कुरा आफूहरुलाई मान्य नहुने चेतावनी दिएका छन्।

पार्टी निकट युवा संघको आयोजनामा हुन लागेको मेची–काली जागरण अभियानका लागि गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले राष्ट्रिय राजनीतिमा आफूहरुको भूमिकालाई कम नआँक्न चेतावनी दिए।

‘अहिले हामी पाँचदलीय गठबन्धनको माध्यमबाट चुनावमा जाने तयारी गरिरहेका छौं।’ गठबन्धन घटक दलप्रति लक्षित गर्दै नेपालले भने, ‘तर हामी प्रष्ट पार्न चाहन्छौं, गठबन्धनमा सबै सिट आफूले लिने अनि उब्रिएको हामीलाई दिने कुरा कदापी मान्न सकिँदैन।’

पार्टीलाई फाइदा नभए गठबन्धनमा बसिरहनु आवश्यक नभएको उनको तर्क छ ।

‘गठबन्धन भनेको दुवै पक्षलाई फाइदा हुने कुरा हो। फाइदा हुन्छ भने, गठबन्धन हुन्छ’ उनले भने, ‘फाइदा हुँदैन भने कसैका निम्ति भर्‍याङ मात्रै बन्न सक्दैनौँ।’

अहिले गठबन्धनभित्र प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि सिट बाँडफाँटको गृहकार्य भइरहेको छ।

गठबन्धन नभए पनि देशभरका पार्टीका नेता कार्यकर्ता एक्लै जान तयार रहेको भन्दै नेपालले आफूहरु गठबन्धन भित्रका दलसँग पनि छुट्टै छलफलमा रहेको बताए।