बिहानै खुमलटार पुगिन् यान्छी, प्रचण्डसँग अर्थपूर्ण छलफल
चिनियाँ राजदूत होऊ यान्छी बुधबार बिहानै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुगिन् । प्रचण्ड भेट्न खुमलटार पुगेकी उनी एक घण्टा छलफल गरेर फर्किएकी छन् ।
स्रोतका अनुसार उनीहरूबीच् लामो कुरा भएको बताइएको छ । यान्छी बुधबार बिहान १० बजे पुगेकी थिइन् १० देखि ११ बजेसम्म यान्छी र प्रचण्डबीच छलफल भएको बताइएको छ ।
भेटमा भएको छलफलबारे आधिकारिक जानकारी केहि गराईएको छैन तर स्रोतका अनुसार आगामी निर्वाचन र उच्चस्तरीय चिनियाँ प्रतिनिधिको नेपाल भ्रमणबारे छलफल भएको दाबी छ ।
प्रचण्ड र यान्छीबीचको भेटवार्तामा सेप्टेम्बर दोस्रो साता चिनियाँ कम्युनिष्ट पार्टीका स्थायी कमिटी अध्यक्ष ली चान्सुले नेपाल भ्रमण गर्ने तयारी गरेको बारे छलफल भएको बताइएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणमा ली नेपाल भ्रमण आउन लागेका हुन् । लीको भ्रमणको तयारीका लागि राजदूत यान्छीले भेटघाट गरेको बताइएको छ ।
नेताहरूलाई निरन्तर भेटिरहने यान्छी पछिल्लो समय निष्क्रिय जस्तै बनेकी थिइन् । लामो समयपछि उनी खुमलटार पुग्नुलाई अर्थपूर्ण मानिएको छ ।