चर्चामा रुपन्देही-२ : पौडेल, भुसाल र गुरुङको भिडन्त, यस्तो हुनसक्छ परिणाम - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

चर्चामा रुपन्देही-२ : पौडेल, भुसाल र गुरुङको भिडन्त, यस्तो हुनसक्छ परिणाम



रुपन्देही- चुनावी माहोल चर्किएसँगै रुपन्देही-२ निकै चर्चामा छ । नेकपा एमालेका प्रभावशाली नेता विष्णु पौडेलको चुनाबी क्षेत्र भएकाले पनि यो क्षेत्र बढी चर्चामा छ ।

पौडेलले यसअघि सबैजसो निर्वाचनमा जितेको रेकर्ड छ । यहाँ एमालेको जनमत पनि उल्लेख्य मानिन्थ्यो । तर भर्खरै सकिएको स्थानीय तहको निर्वाचनले पिक्चर बदलेको छ । पौडेल कमजोर देखिएका छन् । पौडेलले प्रदेश राजधानीको अडान लिन नसकेको भन्दै आलोचना समेत हुने गरेको छ ।

त्यसमाथि एमालेका महासचिव शंकर पोखरेल र पौडेलबीच बढेको द्वन्द्वले एमालेभित्रै तनाव उत्पन्न गरेको छ । यसैकारण पौडेलले स्थानिय तहमा आफ्नो पकड गुमाएका थिए । तर आगामी संघीय निर्वाचनमा यो क्षेत्रबाट पौडेल आफैले जित्ने दाबी गरिरहेका छन् । परिस्थिति भने उनको अनुकुल छैन ।

विगतमा पौडेलकै चुनावी मोर्चा सम्हाल्दै आएका हाल नेकपा एकीकृत समाजवादी रुपन्देहीका केन्द्रीय सदस्य एवम् रुपन्देही इन्चार्ज राजु गुरुङ पौडेलकै क्षेत्रबाट सिफारिस भएका छन् भने स्वतन्त्र उम्मेदवारी घोषणा गरेर डा. निकोलस भुसाल विगत २ महिनादेखि खटिरहेका छन् । लामो समयदेखि सामाजिक क्षेत्रमा खटिएका भुसाललाई युवाहरूले रुचाएका छन् ।

भुसाल काठमाडौं महानगरमा स्वतन्त्रबाट मेयरमा जितेका बालेन शाहकै समूहका व्यक्ति हुन् । उनी बालेन जिताउने अभियानदेखि उनका एजेण्डा बनाउने सम्मको अभियानमा खटिएका हुनाले बालेन पनि उनको चुनावी प्रचारको लागि रुपन्देही आउने चर्चा छ । युवा र डाक्टरहरूको पुरै समर्थन पाएका भुसाल आफूले जित्नेमा ढुक्क छन् । उनका एजेण्डा पनि प्रभावकारी छन् ।

स्थानीय तहको निर्वाचनमा एमालेले जनमत गुमाएकाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन्मा पनि एमालेलाई निकै सकस पर्ने आँकलन गरिएको छ । यद्यपि उपाध्यक्ष पौडेल भने निरन्तर खटिरहेका छन् ।

स्थानीय नेताहरू एमालेलाई यो निर्वाचनमा निकै सकस पर्ने बताउँछन् ।

रुपन्देही–२ बाट नेकपा एसका केन्द्रीय सदस्य एवम् रुपन्देही इन्चार्ज राजु गुरुङ सिफारिस भएका छन् । उनको नाम सर्वसम्मत पठाइएको छ ।

०७४ को निर्वाचनमा पनि पौडेल यो क्षेत्रबाट निर्वाचित भएका थिए । वाम गठबन्धनका उम्मेदवार बन्दै पौडेलले ४४ हजार ३ सय मत ल्याउँदा नेपाली कांग्रेसका उम्मेदवार युवराज गिरीले २१ हजार ९३७ मत पाएका थिए । गिरी कांग्रेसका जिल्ला तहका नेता हुन् । यसपटक गठबन्धनमा यो क्षेत्र एकीकृत समाजवादीले पाउने पक्का भएको बताइन्छ ।

एमाले विभाजन अगाडिसम्म विष्णु पौडेलको चुनावी कमाण्डर हुने गरेका थिए । त्यसैले पनि गुरुङलाई उम्मेदवार बनाउने सम्भावना रहेको ती नेता बताउँछन् ।

एमाले निकट युवा संघका पूर्वउपाध्यक्ष गुरुङ तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का रुपन्देही जिल्ला अध्यक्ष थिए । तर एमाले विभाजनसँगै उनी एकीकृत समाजवादीतिर लागे । उनको जनमत पनि निकै बलियो भएको स्थानीय बताउँछन् ।

यसपटक पौडेल, भुसाल र गुरुङको तृपक्षीय भिडन्तमा यो क्षेत्र कसको पोल्टामा पर्ला भन्न गाह्रो छ । देशभर युवा र स्वतन्त्रको लहर चलेकाले मतदाताले बालेन समूहका भुसाललाई रोज्नसक्ने केही कारण भने छन् ।

भुसालको समर्थनमा पूर्वसचीव भीम उपाध्यायले समेत अभियान चलाएका छन् । त्यसमाथी राष्ट्रिय कलाकारहरूले पनि भुसाललाई समर्थन गरिरहेका छन् ।