अलमुताइरीका कारण ७ हजार डलर जरिवाना - Himal Post Himal Post
  • १ असार २०८३, सोमबार
  •      Mon Jun 15 2026
Logo

अलमुताइरीका कारण ७ हजार डलर जरिवाना



काठमाडौं- एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई जरिवाना गरेको छ।

कुवेतमा भएको एएफसी एसियन कप छनोट खेलमा आचारसंहिता उलंघन गरेको भन्दै एएफसीले एन्फालाई ७ हजार अमेरिकी डलर जरिवाना गरेको हो।

प्रतियोगिताका बेला प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नियम उल्लंघन गर्दै ‘ड्रेसिङ रुम’मा प्रवेश गरेका थिए। लगातार दुई खेलमा पहेँलो कार्ड सामना गरेका अब्दुल्लाह तेस्रो खेलमा निलम्बनमा परे।

आयोजक कुवेत र जोर्डनविरुद्ध लगातार पहेँलो कार्ड सामना गरेपछि अब्दुल्लाह तेस्रो खेलमा इन्डोनेसियाविरुद्ध टेक्निकल एरियामा बस्न नपाउने भए । एएफसीको नियम उल्लंघन गर्दै अब्दुल्लाह नेपाली टोलीसँगै ‘ड्रेसिङ रुम’मा पुगेका थिए। यही घटनालाई आधार मान्दै एएफसीले तीन महिनापछि एन्फालाई जरिवाना गरेको हो। एएफसीले नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाहले नियम उल्लंघन गरेको ठहर गरेको छ।

दुई खेलमा पहेँलोकार्ड पाइसकेका मुख्य प्रशिक्षक अब्दुल्लाह खेलाडीसँगै ड्रेसिङ रुमभित्र प्रवेश गरेपछि एएफसीले अखिल नेपाल फुटबल संघलाई ६ हजार डलर जरिवाना तिराएको छ।

यस्तै इन्डोनेसियाविरुद्ध पहिलो हाफ १० खेलाडीमा सीमित भएपछि दोस्रो हाफको सुरुमा नेपालले दुई खेलाडी परिवर्तन गरेको थियो। दोस्रो हाफ सुरु गर्न ढिला गरेको जनाउँदै एएफसीले नेपालमाथि अर्को थप कारबाही गरेको हो। खेल ढिला गरेकोमा नेपाललाई एक हजार अमेरिकी डलर जरिवाना तिराएको छ।

एन्फा प्रवक्ता सुरेश शाहका अनुसार दुवै घटनाको जरिवाना ९० दिनभित्र १७ सय डलर तिर्नुपर्नेछ। बाँकी दुई वर्ष भित्र तिर्ने समयावधि तोकिएको छ।