प्रधानमन्त्री बन्ने अफर लिएर शंकर पोखरेल आफै पुगेका थिए प्रचण्ड निवास - Himal Post Himal Post
  • १ असार २०८३, सोमबार
  •      Mon Jun 15 2026
Logo

प्रधानमन्त्री बन्ने अफर लिएर शंकर पोखरेल आफै पुगेका थिए प्रचण्ड निवास



काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेतृत्वको अभावमा नभइ राजनीतिलाई सही ट्र्याकमा अघि बढाउन अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारिएको बताएका छन्।

केन्द्रीय प्रचार तथा प्रकाशन विभागले काठमाडौंमा सोमबार आयोजना गरेको पत्रकारसँग अन्तरसंवाद कार्यक्रममा बोल्दै पोखरेलले कामका हिसाबले लोकप्रिय हुँदै गएपछि ओली सरकार ढालिएको बताए।

तत्कालीन पार्टी नेकपा फुटबाट जोगाउन प्रचण्डलाई भेटेको स्मरण गर्दै पोखरेलले ओली नेतृत्वको सरकारमा चुनावमा जाने आफ्नो प्रस्ताव प्रचण्डले नमानेको सुनाए।

‘पार्टी विभाजनबाट रोक्न सकिन्छ कि भनेर म पुस ५ गते प्रचण्डलाई भेट्न उहाँको निवासमा पुगेँ। मैले उहाँलाई छिटो गरेर ओलीजी कै नेतृत्वमा चुनावमा जाऔं, त्यसपछि तपाईँ प्रधानमन्त्री हुनुहोला, त्यसरी पनि आलोपालो हुन सक्छ भनेँ’, पोखरेलले थपे, ‘तर प्रचण्डजीले केपी ओली जनताका बीचमा अलोकप्रिय हुनुहुन्छ, उहाँको नेतृत्वमा चुनावमा जान सकिँदैन भन्नुभयो । मैले तपाइँहरुभन्दा उहाँ लोकप्रिय हुनुहुन्छ भन्दा पत्याउनुभएन। तर उहाँहरुले अहिले एमाले एक्लैसँग चुनाव लड्न गठबन्धनबाहेक अर्को बाटो देखिरहनु भएको छैन ।’

उनले आफूहरु कुनै प्रकारको गठबन्धनको पक्षमा नभएको भन्दै आफ्नै नीतिमा अघि बढ्ने बताए। ‘हामी गठबन्धनको पक्षमा छैनौं, उनले भने, ‘स्थानीय तहमा तालमेल हुन सक्छ त्यसका लागि खुला छौं।’