एमालेमा टिकट बाँड्ने अधिकार अध्यक्ष ओलीलाई दिइयो - Himal Post Himal Post
  • १ असार २०८३, सोमबार
  •      Mon Jun 15 2026
Logo

एमालेमा टिकट बाँड्ने अधिकार अध्यक्ष ओलीलाई दिइयो



काठमाडौं- नेकपा (एमाले) ले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा टिकट वितरण गर्ने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ।

शनिबार सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले प्रत्यक्ष तथा सामानुपातिकतर्फको टिकट वितरण गर्ने जिम्मा अध्यक्ष ओलीलाई दिएको हो।

एमालेको निर्णयमा भनिएको छ, “प्रचलित निर्वाचन कानूनबमोजिम औपचारिक मनोनयनपत्र दिन र उम्मेदावरको बन्दसूची पेश गर्न दलको केन्द्रीय कमिटीको तर्फबाट पार्टीका केन्द्रीय अध्यक्ष एवं दलका प्रमुख पदाधिकारी केपी शर्मा ओलीलाई अख्तियारी दिने निर्णय गरियो।”

यससँगै उम्मेदवार चयन गर्ने जिम्मेवारी पनि केन्द्रीय कमिटीले सचिवालयलाई दिएको छ। उम्मेदवार छनोट सम्बन्धी निर्णय गर्ने अधिकार केन्द्रीय कमिटीलाई हुन्छ। एमाले केन्द्रीय कमिटीले आफ्नो अधिकार केन्द्रीय सचिवालयलाई दिएको हो।

एमाले केन्द्रीय कमिटीको निर्णयमा भनिएको छ,“पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको उम्मेदवारी पार्टीले निर्धारण गरेको मापदण्ड पूरा भई प्रचलित निर्वाचन कानूनबमोजिम योग्य उम्मेदवारहरूको चयन गरी औपचारिक मनोनयन/बन्दसूचीको निर्णय गर्ने अधिकार केन्द्रीय कमिटीको तर्फबाट पार्टीको केन्द्रीय सचिवालयलाई दिने निर्णय गरियो।”

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आगामी मंसीर ४ गते हुने तय भएको छ।