अल्फाबिटा कम्प्लेक्स संचालकले मेयर बालेनलाई समेत टेरेनन् - Himal Post Himal Post
  • २१ कार्तिक २०८१, बुधबार
  •      Wed Nov 6 2024
Logo

अल्फाबिटा कम्प्लेक्स संचालकले मेयर बालेनलाई समेत टेरेनन्



काठमाडौंको नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्स संचालकले महानगरका मेयर बालेन शाहलाई टेरेनन् । महानगरले दिएको ३५ दिने सूचना लत्याउँदै संचालकले उल्टै मेयर शाहलाई नक्सा लिएर आउन आग्रह गरेका थिए।

काठमाडौं महानगरपालिकाभित्रका अनधिकृत संरचनाहरू हटाउने अभियानलाई तीव्रता दिएका मेयर बालेन्द्र साह र व्यवसायीबीच सवाल–जवाफ भएको छ। बिहीबार बिहान काठमाडौंको नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्समा बनाइएको अनधिकृत संरचना हटाउन दिइएको निर्देशनलाई निर्देशक द्विराज शर्माले नमानेपछि मेयर साह आक्रोशित भएका थिए।

मेयर साहले अनधिकृत रूपमा सञ्चालनमा ल्याइएको फार्मेसी बन्द गर्न निर्देशन दिएलगत्तै कम्प्लेक्सका निर्देशक शर्माले ‘सरकारसँग अनुमति लिएर संरचना बनाएको’ जिकिर गरे। त्यसपछि मेयर साहले ‘नक्सा देखाउन’ आग्रह गरेपछि शर्माले महानगरसँगै हुनुपर्ने जवाफ दिएका थिए। त्यसपछि मेयर साह ‘तपाईंको घरको नक्सा अरूसँग हुन्छ ?’ भन्दै आक्रोशित भएका थिए।

त्यसलगत्तै निर्देशक शर्माले ‘तपाईं हाम्रो जनप्रतिनिधि भएर आवेशमा आएर नबोल्नुस्’ भनेपछि मेयर साह केही शान्त भए। ‘३५ दिने सूचना दिएको र त्यस अवधिमा पनि खाली नभएपछि आफू अनुगमनमा निस्किएको’ उनको भनाइ थियो।

अनधिकृत रूपमा बनाइएका संरचनाहरू खाली गर्न काठमाडौं महानगरपालिकाले ३५ दिने सूचना जारी गरेको थियो । तर, त्यो सूचनाको अवज्ञा भएपछि मेयर साहले आफ्नै नेतृत्वमा त्यस्ता अनधिकृत संरचनाहरू हटाउन अग्रसर भएका छन्।