ओलीलाई झापामै हराउने गठबन्धनको यस्तो रणनीति - Himal Post Himal Post
  • ८ पुष २०८१, सोमबार
  •      Mon Dec 23 2024
Logo

ओलीलाई झापामै हराउने गठबन्धनको यस्तो रणनीति



तत्कालीन नेकपाको एकता भंग भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँगकल पानी बाराबार छ ।

निर्वाचन नजिकिएसँगै यी दुई समूहबीच कसले कसलाई रोक्ने भन्ने रस्साकस्सी चलिरहेको छ । ओलीले दुई पटक संसद विघटन गरेपछि देउवालाई सत्ताको चाबी बुझाएका प्रचण्ड–माधवले ओलीलाई झापामै रोक्ने प्रयास गरेका छन् भने ओलीले प्रचण्ड–माधवलाई रोक्ने प्रयास गरिरहेका छन् ।

०७४ मा माओवादीसँग गठबन्धन हुँदासमेत ओलीले आफूलाई सुरक्षित गर्न राप्रपासँग तालमेल गरेका थिए। झापा ३ मा राप्रपाका राजेन्द्र लिङ्देनलाई छाडेर ५ मा आफूले सहयोग लिएका थिए।

अहिले सत्ता गठबन्धनले ओलीलाई निशाना साँधेको बेला ओलीले आफूलाई सुरक्षित गर्नका लागि फेरि झापा ५ मा ओली र झापा ३ मा लिङ्देन हुनेगरी सहकार्य गर्न खोजिरहेका छन् । गठबन्धन बनाउने विषयमा नै गतसाता ओली-लिङ्देनको गोप्य छलफल भैसकेको छ।

वाम गठबन्धन त्यसमाथि लिङ्देनको साथ लिएर ०७४ को चुनावमा ओली ५७ हजार १ सय ३९ मत ल्याएका थिए भने, कांग्रेसका खगेन्द्र अधिकारीले एक्लै २८ हजार २ सय ९७ मत मात्रै ल्याएका थिए। वाम गठबन्धन र राप्रपाको साथमा ओलीले २८ हजार ८ सय ४२ को फराकिलो मतान्तरले जितेको थिए।

बाध्यता भएपछि एमालेले अब चुनावी तालमेलको बिषयमा लोसपा र राप्रपासँग छलफल थालेको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार एमालेले गठबन्धन बनाउनका लागि सम्वाद सुरू गरिसकेको छ।

सके देशब्यापी रुपमा तालमेल गर्ने कुरा नमिलेको खण्डमा आवश्यकता अनुसार केही ठाउँमा सहकार्य गर्ने एमालेको पछिल्लो योजना छ । त्यसैका लागि राप्रपा र लोसपासँग छलफल भइरहेको छ।

ओली रोक्ने रणनीति

यता सत्ता गठबन्धनले पनि राप्रपालाई साथ लिएर ओलीलाई रोक्ने गठबन्धनको गृहकार्य थालेका छन्। झापा केन्द्रित भएर गठबन्धनको तर्फबाट सहकार्य गर्नका लागि गठबन्धनबाट प्रस्ताव आएकाे राप्रपा अध्यक्ष लिङ्देनले बताएका थिए ।

तर झापा केन्द्रित मात्रै भएर तालमेल गर्ने पक्षमा राप्रपा नभएकाले थप छलफल भैरहेको बताइएको छ। गठबन्धनको तर्फबाट पनि विभिन्न माध्यमबाट झापा केन्द्रित तालमेलको प्रस्ताव आइरहेको राप्रपाका नेताहरूले बताउने गरेका छन्।

तर, राप्रपाले भने प्याकेजमै सहमती गर्ने र देशब्यापी गठबन्धन नभए आफूहरू मिलेर जान नसक्ने बताएका छन् । विशेषगरी अहिले दल या गठबन्धन जोसँग भएपनि देशव्यापी तालमेल गर्नुपर्छ भन्ने उनीहरूको अडान छ।

राप्रपाका नेताले तालमेल परिस्थितिमा निर्भर हुने भएकाले अहिल्यै के हुन्छ? भन्ने अवस्थामा नरहेको बताएका छन्।

गठबन्धनको प्रस्तावअनुसार राप्रपा पनि समावेश भएको गठबन्धनलाई जित्न ओलीलाई पनि सहज छैन। वैशाख ३० मा भएको निर्वाचनको वडागत मतका आधारमा झापा ५ मा एमाले ४१ हजार ६ सय १९ छ भने गठबन्धनसँग ३४ हजार ७९८ मत छ।

गठबन्धनको ३४ हजार मतमध्ये कांग्रेस २२ हजार २२, माओवादी १० हजार ७ सय ८८, राप्रपा ८ हजार ३ सय ५३ र एकीकृत समाजवादीकाे १ हजार ९ सय ८८ मत रहेको छ।

राप्रपा गठबन्धनसँग मिल्दा ४३ हजार १ सय ५१ हुन्छ भने एमाले राप्रपा मिल्दा ४९ हजार ९ सय ७२ मत हुन्छ।

सरकारले चुनावको मिति घोषणा गरेलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले गाउँ केन्द्रित भइरहेको छ। वैशाख ३० गते स्थानीय तहको निर्वाचनमा गएको सत्ता गठबन्धन भने अहिले सीट बाँडफाँडको लागि बालुवाटार, खुमलटार र कोटेश्वरमै केन्द्रित छ।​

एमालेविरुद्ध महागठबन्धन बनाएर चुनावी मोर्चामा जान कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चाको तयार छन्।