विप्लव नेकपासँगको सहमति कार्यन्वयन हुँदैछ: गृहमन्त्री खाँण
काठमाडाैं- गृहमन्त्री बालकृष्ण खाणले नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग भएका सम्झौता कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
गृह मन्त्रालयमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) र महान्यायाधिवक्ता खम्मबहादुर खातीसहितको पत्रकार सम्मेलनमा उनले यसअघिको सरकारले नेकपासँग २०७७ साल फागुन २० गते गरेको तीन बुँदे सम्झौता कार्यान्वयनमा गइसकेको र केही प्रक्रियामा रहेको जानकारी दिए।
उनले नेपाल सरकारले विगतदेखि नै राजनीतिक समस्यालाई वार्ता र संवादको माध्यमबाट समाधान गर्दै आएको उल्लेख गर्दै नेकपासँगको सहमति कार्यान्वयन गर्न सरकार मातहतका निकायले काम गरिरहेको अवगत गराए।
गिरफ्तार नेता कार्यकर्ता तथा विभिन्न मुद्दा लगाइएकाको सम्बन्धमा संविधान र कानुनअनुसार रिहा गर्ने फिर्ता लिने प्रक्रिया अघि बढेको मन्त्री खाणले बताए।
वर्तमान सरकार बनेदेखि नै चन्द नेतृत्वको नेकपासँग भएको सम्झौता कार्यान्वयनका लागि शीर्ष तहमा वार्ता र छलफल भइरहेको बताउँदै गृहमन्त्री खाणले सहमति कार्यान्वयनका लागि गृह मन्त्रालय, कानुन मन्त्रालय र महान्यायाधिवक्ताको कार्यालय एवं मातहतका कार्यालय निरन्तर प्रयत्नशील रहेको बताए ।