प्रचण्डलाई आयोगले पठाएको १० करोडको पत्रमा के छ ? - Himal Post Himal Post
  • १ असार २०८३, सोमबार
  •      Mon Jun 15 2026
Logo

प्रचण्डलाई आयोगले पठाएको १० करोडको पत्रमा के छ ?



काठमाडौं- निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पत्र काटेको छ । काटेको पत्र प्रचण्डको सचिवालयले लिन नमानेपछि हुलाकमार्फत पठाईएको थियो ।

अध्यक्ष प्रचण्डले साउनको पहिलो साता गते नरबहादुर कर्मचार्य स्मृति दिवसमा आयोजित कार्यक्रममा बोलेको अभिव्यक्तिलाई लिएर आयोगले पत्र काटेको थियो ।

प्रचण्डले उक्त कार्यक्रममा गाउँपालिका अध्यक्षमा चुनाव जित्नका लागि १० करोड रुपैयाँसम्म खर्च भएको जानकारी आफूलाई आएको अभिव्यक्ति दिएपछि आयोगले तात्तातै पत्र काटेको थियो ।

निर्वाचन आयोगले काटेको पत्रमा गाउँपालिका अध्यक्ष जित्न १० करोड खर्च गर्ने उमेदवारको सूचना दिन आग्रह गरिएको छ ।
आयोगले सोही अभिव्यक्ति दिएको भोलिपल्टै प्रचण्डलाई गते पत्र काटेको हो ।

आयोगले स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षले तीन लाख खर्च गर्न पाउने व्यवस्था रहेको सम्झाउँदै १० करोड खर्च गर्ने उमेदवारको सूचना दिए कारबाही गर्ने बताएको छ ।

आयोगका कानुन अधिकृत मोहनराज जोशीले काटेको पत्रमा लेखिएको छ, ‘आयोगबाट तोकिएको हदभन्दा बढी खर्च गर्ने तथा निजहरुले गरेको खर्र्चको विवरण आयोगले तोकेको कार्यालय समक्ष नबुझाउने उमेदवारमाथि कारबाही प्रकृया सुरु गरिसकेको अवस्था रहेको हुँदा सञ्चार माध्यमहरुमा प्रकाशित प्रसारित भएको तपाईंको अभिव्यक्ति बमोजिम तपाईंले पाएको सूचना अनुसारको गाउँपालिकाको अध्यक्षमा चुनाव जित्न १० करोड रुपैयाँसम्म खर्च गर्ने उमेदवारबारे सूचनाको साथै आयोगले तोकेको खर्चको हदभन्दा बढी खर्च गर्ने उमेदवार बारेको वस्तुगत सूचना आयोगमा उपलब्ध गराई सहयोग गरिदिन हुन अनुरोध गरिन्छ ।’

आयोगले दुई साता अघि नै पत्र पठाए पनि प्रचण्डले त्यसको जवाफ दिएका छैनन् । निर्वाचन आयोग स्रोतले पहिले प्रचण्डको सचिवालयमा पत्र पठाईएको, सचिवालयले लिन नमानेपछि माओवादीको केन्द्रीय कार्यालयमा पत्र दिँदा पनि नबुझेको बताएको छ । त्यसपछि आयोगले हुलाकमार्फत पत्र पठाएको थियो ।