प्रचण्ड र आरजुबीच दिल्लीमा भएको सहमतिको पोल खुल्दै - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

प्रचण्ड र आरजुबीच दिल्लीमा भएको सहमतिको पोल खुल्दै



काठमाडौं- आधा आधा कार्यकाल प्रधानमन्त्री बन्नेगरी प्रधानमन्त्री पत्नी आरजु राणा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच दिल्लीमा सहमतिबारे कांग्रेसका कतिपय नेताहरूले पोल खोल्न थालेका छन् ।

कांग्रेसका प्रभावशाली नेता मीनबहादुर विश्वकर्माले नयाँ दिल्लीमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र कांग्रेस नेतृ डा. राणा देउवाबीच भएको भेटवार्ता र सहमतिबारे सत्यता बहेको बताएका छन् ।

राजनीतिक वृत्तमा चलिरहेको टिप्पणीप्रति सहमति जनाउदै नेता विश्वकर्माले आरजु राणालाई समेत प्रधनमन्त्री बनाउने सहमति भएको संकेत गरेका छन् ।

बिहीवार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उनले प्रचण्ड दिल्लीमा राजनीतिक भेटवार्तामा रहेको र आरजु पनि उपचारको सिलसिलामा दिल्लीमै रहेकोले भेटवार्ता भएको र त्यो भेटवार्तामा स्वास्थ्य लाभको कामना गरिएको स्मरण समेत गराए ।

विश्वकर्माले नेपाली राजनीतिमा प्रचण्ड र आरजु दुवै भोलिका दिनमा प्रधानमन्त्री बन्न सक्ने व्यक्तित्व भएको दाबी पनि गरे । उनले भने, प्रचण्ड र आरजु दुवै जना कहिल्यै प्रधानमन्त्री बन्न नसक्ने व्यक्ति त होइन, कुन दलको प्रतिनिधि सभामा सिट सङ्ख्या कति आउँछ, त्यसको मतभारको आधारमा सरकारको नेतृत्वको साझेदारीको कुरा आउँछ । नेतृत्वको सवालमा दलहरूबीच अर्को चरणमा छलफल हुन्छ । अहिले प्रचण्ड र आरजुले सरकार नेतृत्वको कुरा छ त्यो जसले पनि गर्न सक्छ।’

उनले थपे ‘आरजु दिल्लीमा हुनुहुन्थ्यो । प्रचण्ड भारत भ्रमणमा जानुभएको थियो, त्यति बेला प्रचण्ड र आरजुबीच भेटवार्ता भएको हो । डा. आरजु उदीयमान नेता हो । प्रधानमन्त्री बन्न नसक्ने भन्ने कुरा हुन्छ र ? तर अहिले यो विषयमा छलफल र चर्चा गर्नु आवस्यक छैन ।’

कार्यक्रममा बोल्दै नेता विश्वकर्माले अब शान्ति, समृद्धि र विकासमा दलहरूबीच प्रतिस्पर्धा हुने बताए । आउँदो चुनावसम्म नै वर्तमान पाँच दलीय गठबन्धन कायम रहने उनको भनाइ थियो ।

नेता विश्वकर्माले चुनावमा फलानो दलको फलानो नेता प्रधानमन्त्री बन्ने भनेर अहिले नै उम्मेदवार तोकेर जाने अवस्था नभएको बताएका छन् ।

उनले भने, ‘अहिले गठबन्धन गरेर नै जाने भनिएको छ, यस्तो बेलामा अहिले फलानो पार्टीका फलानो नेता प्रधानमन्त्रीको उम्मेदवार भनेर जाने अवस्था छैन ।’