मन्त्रीले नै भने: गिरोहले फोहोरमैलाको व्यवस्थापन गर्न दिएन - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

मन्त्रीले नै भने: गिरोहले फोहोरमैलाको व्यवस्थापन गर्न दिएन



काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले फोहोर भित्रको गिरोहले नै फोहोरमैलाको व्यवस्थापन हुन नदिएको बताएका छन्।

फोहोरमैलाको व्यवस्थापन सामान्य कुरा भएपनि त्यहाँ भित्रको गिरोहले त्यसलाई ठूलो समस्या बनाइरहेको मन्त्री श्रेष्ठको भनाइ छ।

शनिबार काठमाडौंको बंघ इन्द्रचोक र ऐतिहासिक बंघ दबूको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले फोहोरमैलाको व्यवस्थापन स्थानीय तहहरुले आफ्नै स्रोतबाट गर्नुपर्ने बताए।

मन्त्री श्रेष्ठले स्थानीय सरकारलाई फोहोरमैला व्यवस्थापन गर्ने कुरामा संघीय सरकार सहयोगका लागि तयार रहेको बताए।

पर्यटन मन्त्रालयले यी समस्या समाधानका लागि मठमन्दिरहरुमा सरसफाई गर्न राष्ट्रिय अभियान शुरु गर्न लागेको मन्त्री श्रेष्ठको भनाइ छ। सरसफाईको योजना पूरा गर्न संघ, प्रदेश र स्थानीय सरकारको बीचमा समन्वय आवश्यक रहेकोमा पनि उनले जोड दिए।

मन्त्री श्रेष्ठले कतिपय नागरिकलाई प्रदेश र स्थानीय सरकार बलियो छ भन्ने कुरा अहिलेसम्म पनि बुझाउन नसकेको बताए। सिंहदरबारबाट स्थानीय र प्रदेशमा अधिकार सरिसकेको कुरा नागरिकमा बुझाउन आवश्यक रहेको उनको भनाइ छ।

कार्यक्रममा बोल्दै बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारसँग पैसा खर्च गर्न नसकेर फ्रिज भएको अवस्था रहेको भन्दै विकासका लागि बजेट माग्न आग्रह गरे।

मन्त्रालयले विकासका लागि आवश्यक बजेट दिन तयार रहेको मन्त्री जम्कट्टेलको भनाइ छ। मन्त्री जम्कट्टेलले योजना लिएर आउने युवाहरुलाई विकासका काम गर्न पैसाका चिन्ता नगर्न पनि आश्वस्त पारे।