कांग्रेसमा तीनवटा नयाँ भातृ संस्था जन्मिए - Himal Post Himal Post
  • १ असार २०८३, सोमबार
  •      Mon Jun 15 2026
Logo

कांग्रेसमा तीनवटा नयाँ भातृ संस्था जन्मिए



काठमाडौं- नेपाली कांग्रेसले तीनवटा नयाँ भातृ संस्थालाई मान्यता दिएको छ।

कांग्रेस केन्द्रीय समिति बैठकले लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपाल थारू संघ र नेपाल खेलकुद संघलाई भातृ संस्थाको मान्यता दिएको हो।

थारू र आदिवासी जनजाति संघ संयुक्त रूपमा प्रस्ताव गरिए पनि त्यसलाई छुट्टाछुट्टै भातृ संस्थाको रूपमा मान्यता दिइएको एक केन्द्रीय सदस्यले बताए।

त्यस्तै यसअघि पार्टीको भातृ संस्थाको मान्यता पाएका नेपाल राष्ट्रिय मगर संघ, नेपाल तामाङ संघ, नेपाल लोकतान्त्रिक शेर्पा संघ, कुमाल संघ, लोकतान्त्रिक नेवा खल, लोकतान्त्रिक आदिवासी जनजाति महासंघ आवद्ध संघका रूपमा रहने निर्णय पनि कांग्रेसले गरेको छ।

भातृ संस्थाहरूलाई साउन अन्तिमसम्म पूर्णता दिने निर्णय कांग्रेस केन्द्रीय समिति बैठकले गरेको छ।

त्यस्तै पार्टीका नेताहरूको मर्यादाक्रमबारे थप छलफल गरेर अब बस्ने केन्द्रीय समिति बैठकमा प्रस्ताव पेश गर्ने निर्णय भएको छ।

नेताहरूको मर्यादाक्रमसम्बन्धी प्रस्तावमा प्रदेसका सभापतिहरूले असन्तुष्टि जनाएका थिए।