पद्मा अर्याललाई चाहियो राष्ट्रिय सहमतिको सरकार - Himal Post Himal Post
  • १५ पुष २०८१, सोमबार
  •      Mon Dec 30 2024
Logo

पद्मा अर्याललाई चाहियो राष्ट्रिय सहमतिको सरकार



काठमाडौं- नेकपा (एमाले)की सचिव तथा पूर्वमन्त्री पद्मा अर्यालले वर्तमान सरकार पूरै असफल भएको आरोप लगाएकी छिन्।

उनले भनिन्, ‘प्रमुख प्रतिपक्षी दलको हैसियतले मात्रै नभएर मुलुकको एउटा जिम्मेवार नागरिकको हैसियतबाट हेर्दा यो सरकार चर्चा गर्न लायक नै छैन्। एक वर्षको बीचमा यो सरकारले गरेको एउटा पनि राम्रो काम भेटिँदैन। जताततै बेथिति नै बेथिति मात्रै छ। भ्रष्टाचार अनि भ्रष्टाचार मात्रै छ। कमिशन नै कमिशन छ। लुटपाट, हत्या, बलात्कारजस्ता गतिविधिबाट जनता आक्रान्त बनेका छन्। यो सरकार जति दिन रहन्छ, राष्ट्र र जनताको निम्ति बोझ बन्ने कुरा स्पष्ट रुपमा देखिएको छ।’

आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले वर्तमान सरकार राष्ट्रियताको हिसाबले पनि असफल भएको दाबी गरिन्। उनले भनिन्, ‘यो सरकारको बारेमा राष्ट्रियताको हिसाबले हामीले समीक्षा गर्दा एमसिसी हुँदै एसपिपीसम्म आईपुग्दा यो सरकार राष्ट्रवादी रहेन। सरकार राष्ट्रको हितमा काम गर्दैन भन्ने कुरा हामीले प्रष्ट रुपमा देखेका छौँ। ठूलो कुर्बानीका साथ हामीले राष्ट्रिय सहमति कायम गरेर मुलुकको अद्यावधिक नक्शा जारी गर्‍याैँ, नक्सा जारी गरिरहँदा आज त्यो भेगमा भारतीय पक्षबाट एकपक्षीय संरचना निर्माण भइरहँदा नेपाल सरकार त्यसलाई खबरदारी गर्न सक्दैन्। त्यो रोक्न सक्दैन्। सरकार आफ्नो राष्ट्रको पक्षमा एक शब्द पनि बोल्न सक्दैन्।’

उनले अब विलम्ब नगरिकन गठबन्धनको विकल्प खोज्ने बेला भएको पनि सुनाइन्। उनले भनिन्, ‘एमालेले सदनबाट आवाज उठाइरहेको छ। संघर्ष गरिरहेको छ। त्यहाँबाट सुनुवाई भएन भने अब एमालेले सडक तताउनेछ। सडकबाट आन्दोलन गरेर गठबन्धनको विकल्प खोज्नेछ। एमालेले राष्ट्रिय सरकार गठनको लागि पहल गर्नेछ। किनकि यो सरकार चुनाव गर्नको लागि पनि लायक छैन्। योग्य छैन्। सक्षम छैन्। यसले चुनाव गर्न सक्दैन्। चुनावलाई चुनावजस्तो बनाउने र निष्पक्ष बनाउनको लागि पनि राष्ट्रिय सरकारले मात्रै यो चुनाव गराउनुपर्छ।’

राष्ट्रिय सहमतिको सरकार बेगर अब मुलुक अगाडि जान नसक्ने उनको दाबी छ। उनले भनिन्, ‘मुलुक फेरि अप्ठ्यारोमा परिसक्यो। त्यसैले आजको आवश्यकता यो गठबन्धनकाे विकल्प राष्ट्रिय सहमतिको सरकार हो। राष्ट्रिय सहमतिको सरकारबाट मात्रै मुलुकलाई अगाडि बढाउन सकिन्छ भन्ने हाम्रो कुरा हो।’