दुई महिना नबित्दै बालेनले तोडे आफैले गरेको बाचा - Himal Post Himal Post
  • १ असार २०८३, सोमबार
  •      Mon Jun 15 2026
Logo

दुई महिना नबित्दै बालेनले तोडे आफैले गरेको बाचा



काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले दुई महिना नबित्दै आफैले गरेको बाचा टोडेका छन् । उनले बाचा तोड्दै सार्वजनिक रूपमा माला लगाएका छन्।

महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि र सपथको बेलामा पनि खादा, माला नलगाएका मेयर बालेन्द्रले बुधबार आयोजित एक कार्यक्रममा माला लगाएका हुन्।

बुधबार काठमाडौंमा ज्यापू समुदायले गरेको एक कार्यक्रममा मेयर बालेन्द्र माला लगाएरै सम्बोधन गरेका छन्। उनले काठमाडौंको फोहोर ब्यवस्थापन नभएसम्म खादा, माला, टिका नलगाउने बताएका थिए।

निर्वाचित हुनेबित्तिकै ल्यान्डफिल साइट नुवाकोटको ओखरपौवामा पुगेर बालेन्द्रले फोहोर ब्यवस्थापन नभएसम्म खादा नलगाउने बताएका हुन्।

१६ जेठमा महानगरको मेयरमा सपथ ग्रहण गर्ने क्रममा पनि उनले माला लगाएनन्। राष्ट्रिय सभा गृहमा आयोजित सपथ ग्रहण कार्यक्रममा उपस्थित भएकी बालेन्द्रकी पत्नी सविना काफ्ले लगायत उपमेयर सुनिता डंगोल सहितका जनप्रतिनिधिले भने माला लगाएका थिए।

पछिल्ला केही दिनदेखि सामाजिक सञ्जालमा मेयर बालेन्द्रविरुद्ध आलोचनाका आवाजहरु सुनिन थालेका छन्।

महानगरपालिकाले फुटपाथमा मकै ब्यापार गरेर बसेका व्यवसायीको ठेला उठाएपछि विरोधका आवाज सुनिन थालेका थिए। लण्डनमा आत्महत्या गरेका ¥यापर अनिल अधिकारी (यमबुद्ध) को सालिक बनाउन बजेट छुट्याएको भन्दै चर्को आलोचना भएको थियो।

आलोचना भएपछि बालेन्द्रले यमबुद्धका अभिभावकलाई समेत भेटेर आफ्नै तलबबाट भएपनि सालिक बनाउने स्वघोषणा गरेका थिए।

गएराति ‘काम गर्न देउ, डिस्टर्ब नगर’ भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेको स्टाटस केहीबेरमा मेटाएपछि झनै आलोचना बढ्न थालेको छ।