प्रचण्डलाई घनश्यामको जवाफ: एमाले र माओवादीका बीउ अब उम्रिदैनन् - Himal Post Himal Post
  • १ असार २०८३, सोमबार
  •      Mon Jun 15 2026
Logo

प्रचण्डलाई घनश्यामको जवाफ: एमाले र माओवादीका बीउ अब उम्रिदैनन्



काठमाडौं- एमालेमा बिउ छाडेर आएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाइप्रति एमाले नेता घनश्याम भूसालले जवाफ फर्काएका छन्। प्रचण्डले आजको आवश्यकता नबुझेको उनको भनाइ छ।

भूसालले भने, ‘कमरेड प्रचण्डले आज कहीँ भन्नुभएछ- एमालेमा बिउ छाडेर आएको छौं, हेर्नुहोला फल्छ। एउटा धारालाई संगठित गर्न र उत्साहित गर्न जे भन्नुभयो त्यसलाई स्वागत गर्नुपर्छ। तर उहाँले आजको आवश्यकता राम्ररी बुझ्नुभएन। आज माओवादीको बिउ, एमालेको बिउ, एकीकृत समाजवादी कसैको पनि बिउ उम्रिदैन। यी नउम्रिने बिउहरु हुन्। हाइब्रिड बनाउनुपर्छ।’

रैथाने बिउले नहुने बताउँदै त्यसलाई हाइब्रिड बनाउनुपर्नेमा जोड दिँदै उनले धेरै भन्दा धेरै उत्पादन गर्ने बिउ बनाउनुपर्ने बताए। भूसालले माओवादी केन्द्र र एमाले मिलेर हाइब्रिड बिउ नेकपा बनाएको बताए। ‘हामीले नेकपा नामक हाइब्रिड बनाएका थियौं। हाम्रो बुद्धि पुगेन र भकारीमा आगो लगायौं’ उनले भने।

प्रचण्डले बुधबार बिहान एक कार्यक्रममा बोल्दै एमालेमा माओवादीको बिउ छाडेर आएको बताएका थिए। उनले भनेका थिए, ‘एमालेको नेतृत्व गर्ने प्रयास गर्यौ, तर सकिएन नि भन्ने लागेको हुनसक्छ। तर हामीले त्यहाँ बिउ रोपेका छौं। माओवादीले बिउ रोपेका छौं। केही समयपछि फुल्छ फल्छ।’