जसपाका मन्त्री पनि फेरिने: उपेन्द्रलाई अधिकार, प्रचण्डको तजबिज - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

जसपाका मन्त्री पनि फेरिने: उपेन्द्रलाई अधिकार, प्रचण्डको तजबिज



काठमाडौं- नेकपा एकीकृत समाजवादीले मन्त्रीहरू परिवर्तन गरेपछि जनता समाजवादी पार्टी (जसपा) नेपालले पनि सरकारमा रहेका सबै मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने भएको छ । सोमबार राति बसेको जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षीय कार्यकारिणी समिति बैठकले सरकारमा रहेका चारवटै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

बैठकले नयाँ मन्त्री पठाउने अधिकार उपेन्द्र यादवलाई दिइएको छ । उपेन्द्र पक्षीय कार्यकारिणी सदस्यहरूको बैठकले उनलाई अधिकार दिएको बताइएको छ ।​ जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, वन मन्त्री रामसहायप्रसाद यादव र कृषि तथा पशुपंक्षि विकास मन्त्री महिन्द्र राय यादव मन्त्री भएका छन्।

बैठकमा कार्यकारिणीमा आफ्नो बहुमत रहेको दाबी गर्दै उपेन्द्र पक्षीय बैठकले बाबुराम भट्टराई, महेन्द्र यादवसहित केही नेताहरूलाई कारबाही गर्ने अधिकार पनि उपेन्द्र यादवलाई दिएको छ । कार्यकारिणीको बैठकमा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई पक्षीय नेतालाई बोलाइएको थिएन ।

सोमबार बिहान प्रचण्डसँग भेटेका उपेन्द्र यादवले नेकपा एसले मन्त्रीहरू फिर्ता बोलाएर नयाँलाई शपथग्रहण गराएपछि अब आफ्नो पार्टीमा पनि मन्त्रीहरू फेरबदलको लागि सहयोग गर्न आग्रह गरेका थिए ।