एकीकृत समाजवादीभित्र अर्को तमासा - Himal Post Himal Post
  • १ असार २०८३, सोमबार
  •      Mon Jun 15 2026
Logo

एकीकृत समाजवादीभित्र अर्को तमासा



काठमाडौं- नेकपा एकीकृत समाजवादीले मन्त्रीहरू परिवर्तन गर्ने निर्णय गरेपछि पार्टीभित्र तमासा भैरहेको छ । पार्टीभित्र भएका विवादहरू एकपछि अर्को गर्दै छरपष्ट भएका छन्।

पार्टीले निर्णय गरेपनि सरकारमा रहेका मन्त्रीहरू फिर्ता आउन मानेनन्। सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री हेरफेर केही समयपछि गर्ने भन्ने सहमति गरेपछि उसले तय गरेका नयाँ मन्त्रीहरू सरकारमा जान पाएनन्।

एकीकृत समाजवादी मन्त्रीहरू आफैले यो समयमा हेरफेर गरिनु उपयुक्त नभएको भन्दै प्रधानमन्त्री र प्रचण्डसँगसमेत लविङ गरेका थिए।

उनीहरूले त्यसमा असन्तुष्टी प्रकट गर्दै पार्टी अध्यक्ष माधव नेपाललाई ज्ञापनपत्र पनि बुझाएका थिए। तर मन्त्री आलेलगायत ६ जना सांसदहरूले भने त्यो ज्ञापनपत्रबाट हस्ताक्षर फिर्ता लिएको घोषणा गरेका छन्।

अहिले उनीहरूले पार्टीले तय गरेको भन्दा फरक भूमिकामा मन्त्रीहरूको सूची प्रस्ताव गरेका छन्।

कृष्णलाल श्रेष्ठ, निरा जैरू, धनबहादुर बुढा र हिराचन्द्र केसीलाई मन्त्री र गोपाल बमलाई राज्यमन्त्रीमा सिफारिस गरेका छन्। पार्टीले अहिलेका स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई स्वास्थ्यमन्त्री बनाउने निर्णय गरेको थियो। दाङका सांसद हिराचन्द्र केसीलाई पार्टीले राज्यमन्त्री बनाउने निर्णय गरेको थियो।