ओलीले भन्न थाले: सेनाले मलाई ढाँटेर पत्र पठायो - Himal Post Himal Post
  • १० पुष २०८१, बुधबार
  •      Wed Dec 25 2024
Logo

ओलीले भन्न थाले: सेनाले मलाई ढाँटेर पत्र पठायो



काठमाडौं- नेपाली कांग्रेसले एसपीपी सम्झौता गर्न लागेको बह्न्दै चर्को विरोध गरेका केपी शर्मा ओलीले अहिले भने सेनाले आफूलाई जानकारी नदिएको बताउन थालेका छन् । बिहिबार ओलीकै पालामा अमेरिकालाई पठाईएको पत्र सार्वजनिक भएपछि एमालेका एकथरी नेताहरू ओली बचाउ अभियानमा लागेका छन् भने ओलीले भने आफूलाई जानकारी नदिई सेनाले पठाएको भन्दै उम्किने प्रयास गर्न थालेका छन् । उनको अभिव्यक्तिमा सेनाले उनलाई ढाँटेर पत्र पठाएको आशय झल्किन्छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सन् २०१५ मा अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)का लागि नेपाली सेनाले पत्र लेख्दा आफूलाई जानकारी नदिइएको दाबी गरेका छन्। तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अमेरिकी दूतावासलाई पत्र लेख्दा आफूलाई जानकारी नगराएको दाबी ओलीको दाबी छ। यद्यपि उक्त पत्रको बोधार्थ परराष्ट्र मन्त्रालय र रक्षा मन्त्रालयलाई दिइएको छ। यस्तै पत्रको सुरुमा नै ‘सरकारको अनुमतिले भन्ने उल्लेख छ।

स्थानीय तहमा निर्वाचित पार्टीका जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रममा ओलीले ६ असोज २०७२ मा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले रक्षामन्त्रीको हैसियतमा एसपीपीमा सहभागी हुन आग्रह गर्ने निर्णय गरेको र १३ असोजमा सैनिक हेडक्वार्टरमा पठाएको ओलीको दाबी छ।

‘हामीलाई कतै पनि बताइएन। असोज २४ गते म संसदबाट निर्वाचित भएँ, २५ गते सपथ लिएँ। तर १० गते (कात्तिक)मा त्यसबेलाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अमेरिकी राजदूतलाई पत्र लेखेका रहेछन्,’ ओलीको दाबी छ, ‘प्रधानसेनापतिले एम्बेसीलाई पत्र लेख्दैन, रक्षा मन्त्रालयको काम होला त्यो। परराष्ट्र मन्त्रालयको काम होला। तर प्रधानसेनापति आफैंले लेखेको रहेछ। जबकी त्यो भन्दा १५ दिन अगाडि म प्रधानमन्त्री भइसकेको छु। तर त्यो कुरा बताइएन । गुपचुप नै राखियो।’

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएको बेला वैशाख २०७४ मा प्रधानसेनापति क्षेत्रीले फेरि पत्र लेखेर अघि बढाउन आग्रह गरेको पाइएको उनले आरोप लगाए। आफ्नो सरकार आएपछि इण्डोप्यासिफिक स्ट्राटेजीमा नेपाल र श्रीलंका पनि संलग्न भएको उल्लेख गरेपछि परराष्ट्र सचिवको नेतृत्वमा कार्यदल बनाएको र त्यसको सिफारिसका आधारमा एसपीपीमा सहभागी नहुने निर्णय गरेको ओलीको दाबी छ।