नयाँ पार्टी दर्ता गर्न बाबुराम समूह निर्वाचन आयोगमा
काठमाडौं- पार्टी अध्यक्ष उपेन्द्र यादवले एकलौटी गरेको भन्दै दबाब दिइरहेको समूह निर्वाचन आयोगमा पुगेको खुलेको छ । जसपाभित्र अहिले विवाद चर्किएको छ भने असन्तुष्ट समूह नयाँ पार्टी दर्ताको तयारीमा लागेको छ ।
नयाँ पार्टी दर्ताका लागि कानुनी प्रक्रिया बुझ्न उक्त समूह निर्वाचन आयोग पुगेको बताइएको छ । निर्वाचन आयोग स्रोतका अनुसार पार्टीको बैठक बोलाएर आफ्ना एजेण्डा लागु गराउन उपेन्द्र यादवलाई दबाब दिन जसपा संघिय परिषद अध्यक्ष डा बाबुराम भट्टराईलगायतका नेताहरू निरन्तर लागिरहेका छन् ।
पार्टी अध्यक्ष यादवलाई आफ्नो एजेन्डा लागु गर्न थप दबाब दिने, त्यसपछि पनि यादव तयार भएनन् भने नयाँ पार्टी खोल्नेसम्मको विषयमा छलफल भएको स्रोतले बताएको छ । शनिबार पनि जसपाका केही नेताहरूको बैठक बसेको थियो । बालुवाटारस्थित एक नेताको निवासमा असन्तुष्ट नेताको बैठक बसेको बताइएको छ ।
डा भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर दल विभाजनसम्बन्धि अध्यादेश ल्याइदिन भन्दै आग्रह गरेको त यसै विषयमा उपेन्द्र यादवलाई प्रधानमन्त्रीले टेलिफोन गरेको आइतबार मात्रै हिमालपोस्टले खुलासा गरेको थियो । त्यसअघि डा. भट्टराई समूहका नेताहरू निर्वाचन आयोग पुगेको खुलासा भएको छ ।
दल विभाजनसम्बन्धि अध्यादेश ल्याउन प्रधानमन्त्री देउवा अनिच्छुक देखिएपछि भट्टराई समूहले नयाँ पार्टी दर्ताको तयारी गरेको बुझिएको छ । नयाँ पार्टी दर्ता गर्ने प्रक्रिया बुझ्न निर्वाचन आयोगमा नेताहरू गएको जसपाकै एक नेताले पुष्टि गरे।
स्थानीय निर्वाचनअघि नै पार्टी विभाजन वा नयन पार्टी दर्ताबारे छलफल भएको बताइएको छ । अहिले संघको निर्वाचन अघि नै पार्टीको छिनोफानो गर्ने भन्दै बाबुराम समूह लागिरहेको बताइएको छ ।