एमालेमा घनश्यामको जित, आत्मघाती हुने भएपछि ओली 'ब्याक' - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

एमालेमा घनश्यामको जित, आत्मघाती हुने भएपछि ओली ‘ब्याक’



नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई गर्ने भनिएको कारबाहीबाट पार्टी अध्यक्ष केपी शर्मा ओली ब्याक भएका छन् । पार्टीमा चर्को आलोचना र विवाद देखिएपछि ओली यो तयारीबाट ब्याक भएका हुन् ।

सोमबार दिउसो एमालेको सचिवालय बैठक बस्दै छ । बैठकबाट भुसाललाई कारबाही गर्ने यसअघिको तयारी थियो । तर उनलाई कारबाही गर्दा पार्टीमा फेरि विद्रोहको संकेत देखिएपछि ओलीले उक्त विषयलाई बैठकको एजेण्डामा नराख्न निर्देशन दिएको स्रोतले बतायो ।

एक टेलिभिजन कार्यक्रममा अध्यक्ष ओलीको चर्को आलोचना गरेका भुसाललाई अनुशासन आयोगले कारबाही सिफारिस गरेको थियो । अनुशासन आयोगको सिफारिसपछि एमालेमा यो विषयले उथलपुथल नै ल्याएको छ । घनश्यामको पक्षमा देखिएको माहोलकै कारण ओली कारबाहीको निर्णयबाट पछि हरेको बताइएको छ ।

स्थानीय तहको निर्वाचनपछि सोमबार पहिलोपटक नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । यसै बैठकबाट घनश्यामलाई कारबाही गर्ने भन्दै ओलीले अनुशासन आयोगलाई कारबाही सिफारिस गर्न दबाब दिएको एमालेभित्र चर्चा छ । आयोगको निर्नायपछि सामाजिक सञ्जालदेखि पार्टी वृत्तमा यो सिफारिस र ओलीको तयारीको चर्को विरोध भैरहेको छ ।

एमालेको सचिवालय बैठक सोमबार दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा बस्ने केन्द्रीय कार्यालयले जनाएको छ । सचिवालयअघि आइतबार केन्द्रीय कार्यालयको बैठक बसेको थियो। महासचिवको नेतृत्वमा उपमहासचिव र सचिवहरु सदस्य रहने कार्यालयको बैठकले सचिवालय बैठकका एजेण्डा तय गरेको थियो । सचिवालय बैठकको एजेण्डामा भुसाललाई कारबाही गर्नेबारे केहि नराख्न ओलीले नेताहरूलाई निर्देशन दिएको स्रोतको दाबी छ ।

स्थानीय निर्वाचनपछि बस्न लागेको यो पहिलो बैठकमा चुनावको समीक्षा गर्ने मुख्य एजेण्डा छ। आइतबार बसेको केन्द्रीय कार्यालय बैठकमा यो विषयले प्रवेश नै नपाएको एक नेताले बताएका छन् । उनका अनुसार प्रायः कार्यालयले बैठकका एजेण्डाहरु तय गर्दा नेतृत्वसँग सहमतिबाटै गरेको हुन्छ, त्यसर्थ एजेण्डामा नपरेको विषयमा सचिवालयले छलफल गर्दैन । यदि एजेण्डामै नभएको विषयले प्रवेश पाएको खण्डमा भुसाललाई सामान्य तरिकाले स्पष्टिकरण सोध्ने सम्मको काम हुनसक्छ ।

भुसाललाई कारबाही गर्ने तयारी थालेपछि ओलीलाई एमालेका धेरैजसो नेताहरूले भेटेका छन् । त्यो भेटमा नेताहरूले अहिलेको समयमा यस्तो आत्माघाती निर्णय नगर्न आग्रह गरेका थिए । त्यति मात्र होइन संसदीय निर्वाचन नजिकिएको बेला यो निर्णयले पार्टीलाई ठूलो क्षती पुग्ने उनीहरूको तर्क थियो ।

नेकपा एमालेको सचिवालयमा अध्यक्ष केपी ओलीसहित १९ जना छन् । भुसाललाई कारवाहीका लागि बहुमत जुटाउन कम्तिमा १० जना आवश्यक पर्छ । एमाले नेतृत्वको चौतर्फी आलोचना हुनु र ओली पछि हट्नुलाई एमालेमा घनश्यामको जितको रूपमा हेरिएको छ ।