गजल-अविनाश सापकोटा - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

गजल-अविनाश सापकोटा



रहेछन् शत्रु तिम्रा को, र को आफ्ना कुरा बुझ्छौ
सबैले घाउमा ठक्कर दिई जाँदा कुरा बुझ्छौ !

तिमी माया बराबर चाहियो भन्छौ मेरो सामु
नियाली हेर तिम्रै हातका औँला, कुरा बुझ्छौ !

मलाई पिरमा छोडेर जानेले खुसी भेट्यो
कुवामै रम्छ जाबो भ्यागुता,माछा, कुरा बुझ्छौ !

अनौठो पाठशाला हो यो जीवन, घाउ शिक्षा हो
हजारौँ चोट लागे बल्ल जीवनका कुरा बुझ्छौ !

नपाए आँसु झार्छौ, ती खेलौना मात्रको लागि
बनेको दिन तिमी आँफै बुबाआमा कुरा बुझ्छौ !

-अविनाश सापकोटा
हाल, दोहा कतार