पिपलधारा चौतारी सम्पर्क समितिद्वारा विपन्न परिवारलाई राहत वितरण - Himal Post Himal Post
  • २६ फाल्गुन २०८१, सोमबार
  •      Mon Mar 10 2025
Logo

पिपलधारा चौतारी सम्पर्क समितिद्वारा विपन्न परिवारलाई राहत वितरण



विश्वभर फैलिएको कोरोना सङ्क्रमणले समाजमा निम्ताएको आर्थिक सङ्कट र अभावलाई मध्यनजर राख्दै समाजका अति विपन्न परिवारलाई चाडपर्वमा थोरै भए पनि राहत मिलोस् भन्दै वैदेशिक रोजगारीमा रहेका धुर्कोट गाउँपालिका २ पिपलधाराका युवाहरूद्वारा सञ्चालित सामाजिक संस्था पिपलधारा चौतारी सम्पर्क समिति विश्वसंजाल गुल्मी,स्थानीय समिति र संयुक्त उपसमितिको सक्रियतामा एकल महिला तथा पुरुष र अति विपन्न परिवारलाई राहत सँगै आर्थिक सहयोग हस्तान्तरण गरेको छ।

आज सोही संस्थाको स्थानीय समितिको आयोजनामा एक कार्यक्रम गरी उक्त राहत वितरण गरेको हो। स्थानीय समितिका अध्यक्ष सूर्य खड्काको अध्यक्षता, धुकोट २ पिपलधाराका वडा अध्यक्ष नवीन जी.सी को प्रमुख आतिथ्यता र कार्यपालिका सदस्य कमला घर्ती र केन्द्रीय कोषाध्यक्ष पृतम खड्काको विशेष आतिथ्यतामा साविकका नौ ओटै वडाका ३४ अति विपन्न परिवार लाई राहत वितरण गरेको छ । राहत सामग्रीमा प्रति घरपरिवार २५ किलो चामल, दुई किलो नुन, एक लिटर तेल , एक किलो चिनी, एक किलो दाल वितरण गरिएको थियो ।

धुर्कोट गाउँपालिका- २ गुल्मी पिपलधारा स्थित गणेश माविको प्रांगढमा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाली काँग्रेसका गाउँ सभापति हरि थापा,राप्रपा गाउँकमिटि अध्यक्ष टानबहादुर केसी, संस्थाका केन्द्रीय सल्लाहकार हिमशिखर रसाइली, स्थानीय सल्लाहकार द्वय बाबुराम गौतम, नरेन्द्र थापा,उपाध्यक्ष हेम थापा ,केन्द्रीय सह सचिव विष्णु विश्वकर्मा, संयुक्त उपसमितिका सह सयाेंजक अमिर खड्का,स्थानीय समितिका पूर्व अध्यक्ष रामबहादुर खड्का,गणेश माविका प्राचार्य बाबुराम खनाल लगायतको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा शुभकामना मन्तव्य दिँदै जनप्रतिनिधि र राजनीति दलका प्रतिनिधीहरुले युवाहरूको परोपकारी कामको खुलेर प्रशंसा गरेका थिए । कार्यक्रममा बोल्दै स्थानीय पाठ्यक्रम निर्माण समिति सदस्य तथा गणेश माविका प्रअले उक्त संस्थालाई स्थानीय पाठ्यक्रममा समावेश गर्ने जानकारी समेत गराएका थिए । सामाजिक दुरी कायम गरी सम्पन्न गरिएको उक्त राहत वितरण कार्यक्रमको सञ्चालन स्थानीय उपाध्यक्ष हेम थापाले गर्नु भएको थियो ।

वैदेशिक रोजगारीमा रहेका युवाहरूद्वारा सञ्चालित यो संस्थाले एम्बुलेन्स हस्तान्तरण, प्रतीक्षालय,विभिन्न जनचेतनामूलक होर्डिङ बोर्ड, वडामा रहेका विद्यालयहरूलाई आर्थिक सहयोग, भूकम्प पीडित, आगलागी पीडित,गरिब असहायहरू लाई आर्थिक सहयोग आदि परोपकारी कार्य गर्दै आइरहेको छ ।