कैलालीमा पत्रकारमाथि आक्रमण : दोस्रो चरणको आन्दोलनको घोषणा - Himal Post Himal Post
  • २६ फाल्गुन २०८१, सोमबार
  •      Mon Mar 10 2025
Logo

कैलालीमा पत्रकारमाथि आक्रमण : दोस्रो चरणको आन्दोलनको घोषणा



कैलाली – धनगढीमा रहेको दिनेश सञ्चारगृहमा प्रवेश गरेर पत्रकारमाथि कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै पत्रकार महासंघ कैलालीले दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । पत्रकार महासंघका केन्द्रिय सदस्य मीन बम, पत्रकार महासंघ सुदूरपश्चिम समितिका अध्यक्ष अर्जुन शाह लगायतका पत्रकारको उपस्थितीमा भएको भेलाले दोस्रो चरणका आन्दोलनका कार्यक्रम तय गरेको हो ।

महासंघको जिल्ला शाखा कैलालीको अगुवाइमा आजदेखि नै दोस्रो चरणका आन्दोलनका कार्यक्रम सुरु भएको महासंघका कोषाध्यक्ष हिमाल जोशीले जानकारी दिए । जोशीका अनुसार आज दोस्रो चरणको आन्दोलन अन्तरगत जिल्ला प्रशासन कार्यालयमा धर्ना दिइएको हो ।

‘भोली कालो पट्टी बाँधेर जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिने र पर्सी सञ्चार सामाग्रीसहित जिल्ला प्रशासन अगाडि धर्ना र प्रदर्शन गर्ने संघर्षका कार्यक्रम तय भएको कोषाध्यक्ष जोशीले जानकारी दिए ।

समाचारको विषयलाई लिएर गत शुक्रवार धनगढीको दिनेश सञ्चारगृहमा प्रवेश गरेर एक समूहले समाचार कक्षमै पत्रकारलाई कुटपिट गर्नुका साथै कर्मचारीमाथि हातपात र दुर्व्यवहार गरेको थियो। सञ्चारमाध्यममा आक्रमण गर्ने मध्येका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।