भुसाल मृत्यु प्रकरण : दुई वटा समिति गठन, जेठ ५ सम्मको लागि प्रर्दशन स्थगित

कैलाली । यहि बैशाख ११ गतेका दिन रहस्यमय हत्या भएका कैलालीको गौरिगंगा नगरपालिकाको बिहानी क्षितिज स्कुलका प्रिन्सिपल एवं एन प्याब्सनका केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद भुसालको हत्याको छानबिनका लागि दबाब दिन भईरहेकाे प्रदर्शन स्थगित गरिएको छ ।
स्व: कृष्णप्रसाद भुसाल सरको हत्याकाण्ड छानबिन र सत्यतथ्य सार्वजनिक गर्न र दोषीलाई हदैसम्म कारबाहीको माग गर्दै दैनिक गौरीगंगा न.पा.को मसुरियामा हाल भईरहेका जनप्रर्दशनका कार्यक्रम जेठ ५ सम्म स्थगित गरिएको हो । बुधबार मसुरियामा बसेको सर्वदलीय सर्वपक्षीय बैठकले कृष्णप्रसाद भुसालको हत्या पश्चात् मसुरियामा हाल दैनिक जसो भईरहेका जनप्रर्दशन जेठ ५ गते सम्मलाई स्थगित गर्ने निर्णय गरेको हो ।
भुसाल हत्या प्रकरण सम्बन्धमा न्यायिक छानबिन गरि अपराधीलाई कारबाही गर्ने वातावरण सिर्जना गराउन जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, लगाएतका निकायमा दवाव दिने उदेश्यले २ वटा समिति गठन गरिएको छ । गौरीगंगा नगरप्रमुख भिम बहादुर देउवाको संयोजकत्वमा कृष्ण कुमार चौधरी, मदन राज जोशी , राम बहादुर कलेल र शिव प्रसाद खरेल रहनु भएको ५ सदस्यीय समन्वय समिति बनाईएको छ ।
त्यस्तै जनस्तरबाट न्यायपुर्ण दबाब सिर्जना गर्न देवीदत्त कडेलको संयोजकत्वमा ३१ सदस्यीय संघर्ष समिति गठन गरिएको छ । भुसालको सुनियोजित हत्या भएको सर्वदलीय सर्वपक्षीय बैठकले निष्कर्ष गर्दै दोषीलाई कारबाहीको लागि सबै तह र निकायमा दबाब दिने निर्णय गरिएको छ ।
घटनाको गम्भीर र गहन अनुसन्धान गर्न सम्बन्धि निकाय जिम्मेवार नभएमा जेठ ६ गतेदेखि संघर्षका कार्यक्रम तय गरेर वृहत् रुपमा दबाबमूलक कार्यक्रम गर्ने संघर्ष समितिका संयोजक देवीदत्त कडेलले बताउनु भएको छ ।
बैशाख ११ गते कुल प्रसाद भट्टले पटकपटक फोन गरेर बोलाए पछि २ बजे मसुरियाबाट घोडाघोडी १० पहलमानपुर गएका थिए । भुसाल शस्त्र प्रहरी वल वेश क्याम्प देखि ३ सय मिटर पश्चिममा मृत अबस्थामा भेटिएको थियो । शव फेला परेको स्थान देखि करिब २ किलोमिटर पश्चिममा पुर्व पश्चिम राजमार्गमा गौरीगंगा नगरपालिकाको शिवशंकर सामुदायिक वन किनारमा भुसालले प्रयोग गरेको चप्पल माक्स २ क्वाटर रक्सी फेला परेको थियो । चप्पल माक्र्स भेटिएको स्थान देखि सय मिटर पश्चिममा सालको रुखको फेदमा रगत समेत भेटिएको थियो ।
घोडाघोडी १० अामखोईया सम्म साईकल डोर्याएर हिड्दै अाएका भुसालको शव, चप्पल र रगत फरकफरक ठाउँमा भेटिनुले उनको हत्या भएको प्रस्ट भएको स्थानिय छत्र बोहराले बताउनुभयो । पिडित परिवारको किटानी जाहेरीका अाधारमा प्रहरीले ५ जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

