राजदूतको राजीनामा - कारण सरकारको बेवास्ता - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

राजदूतको राजीनामा – कारण सरकारको बेवास्ता



हिमालपोस्ट/काठमाडौँ-

श्रीलङ्काका लागि नेपालका राजदूत प्रा. डा. विश्वम्भर प्याकुरेलले राजीनामा दिएका छन्। उनले आफ्नै देशको प्रशासनिक नेतृत्वले राजदूतलाई जनावरजति पनि महत्व नदिएकोले चित्त दुखेर राजीनामा दिएको बताए। डा. प्याकुरेलले भने, ‘‘मैलै २४ महिनामा २४ वटा प्रतिवेदन बुझाएँ। इमेल लेखेँ। तर मन्त्रालयबाट कुनै पनि जबाफ आएन। त्यही भएर मैले डेढ महिनाअघि राजीनामा दिएको हुँ। अहिले स्वीकृत भएछ।’’

डा. प्याकुरेलले भने,‘‘मेरो कुनै पनि कुराको जबाफ नआएपछि नेपाली करदाताको रकमबापतको तलब खाएर बसिरहन मन लागेन। त्यसैले राजीनामा दिएको हुँ। म आफैँ पनि केही काम गरेर नेपालमा बसिरहेको मान्छे हुँ। यस्तो ‘ह्युमिलिएसन’ सहेर बस्न मन लागेन।’’

गएको मङ्गलबार सरकारले उनको राजीनामा स्वीकृत गरेको थियो। उनले भने, ‘‘मैले राजीनामा स्वीकृत भएको गएको शुक्रबार थाहा पाएँ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मलाई पुनर्विचार गर्न आग्रह गर्नुभएको थियो। तर पुनर्विचार गर्न मन लागेन।’’

डा. प्याकुरेलले श्रीलङ्कामा आफूलाई श्रीलङ्कामा उच्च महत्व दिइएको बताए। श्रीलङ्काका विदेशमन्त्री आफूलाई भेट्न आउने गरेको र कर्मचारीहरूले पहिलोपटक यस्तो देखेको भनेर आश्चर्य मानेको उल्लेख गर्दै प्रा.डा. प्याकुरेलले आफ्नो देशमा भने कुनै कुराको सुनुवाइ नभएकोमा आफ्नो चित्त दुखेको जनाए।

उनले श्रीलङ्कामा गएको अप्रिल २१ तारेखमा भएको बम विस्फोटको संसारभर चर्चा भएपनि त्यहाँ रहेका नेपालीको अवस्था के छ भन्ने बारेमा परराष्ट्र मन्त्रालयले कुनै चासो नदेखाएको उल्लेख गर्दै प्याकुरेलले भने, ‘‘बरु परराष्ट्रमन्त्रीले फोन गरेर के छ त्यहाँको अवस्था भनेर सोध्नुभयो। तर प्रशासनिक नेतृत्वले कुनै चासो दिएन।’’

आफूले सह्य नभएर राजीनामा दिएको चर्चा गर्दै उनले अरू देशमा रहेका नेपाली राजदूतको हालत पनि त्यस्तै भएको बताए। आफूले कुटनीति राम्रै रूपमा चलेको होला भन्ने ठानेकोमा अहिले आफूले भोगेपछि वास्तविकता थाहा पाएको जनाए। उनले आफूसँगको कुराकानीमा अरू देशमा रहेका राजदूतले पनि त्यस्तै अप्ठेरो अनुभूति सुनाएको  तर उनीहरूले छोड्न नसकेको बताए।

‘‘पहिला आइहालियो। मैले परराष्ट्रमन्त्रीलाई पहिला पनि अप्ठेरो छ भने मलाई फिर्ता बोलाउँदा पनि हुन्छ भनेको थिएँ। तर, फिर्ता बोलाइएन। तर काममा कुनै सहयोग नपाएपछि काम गर्न मन नलागेर छोडेको हुँ,’’ डा. प्याकुरेलले भने।

डा. प्याकुरेलले चार दशकदेखि विश्वविद्यालयमा पढाएको उल्लेख गर्दै नेपालमा आएर अब स्वतन्त्र रूपमा काम गर्ने उल्लेख गरे। उनको भनाई थियो,‘‘परराष्ट्र मन्त्रालयमा न फोन उठ्छ, न इमेलको जबाफ पाइन्छ। यस्तो अवस्थामा ट्याक्स पेयरको पैसा खाएर अनि मर्सिडिज चढेर के बस्नु ?’’

राजदूत हुनुभन्दा अघि पनि आफूले विश्व बैङ्कको सल्लाहकारको रूपमा काम गरेको उल्लेख गर्दै भने,‘‘मलाई नपुग्दो केही थिएन। तर त्यस्तै परेर आइयो। तर कुकुर बिरालोजत्तिको पनि मान्यता आफ्नै देशबाट नपाउँदा ग्लानि भएर राजीनामा दिएँ।’’

डा. प्याकुरेल शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारका पालामा राजदूत नियुक्त भएका हुन्। त्यतिबेला नियुक्त भएमध्ये अन्यलाई यसअघि सरकारले फिर्ता गरेकोमा जापानका लागि नेपालका राजदूत प्रतिभा राणा र श्रीलङ्काका लागि राजदूत प्याकुरेल मात्रै काम गर्दै आएका थिए। तर, प्याकुरेललाई असहयोग भएपछि उनले अहिले राजीनामा दिएका हुन्।