कठुवा घटना : बालिका हत्यामा छ जना दोषी - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

कठुवा घटना : बालिका हत्यामा छ जना दोषी



भारतप्रशासित कश्मीरमा एउटी आठ वर्षीया बालिकालाई बलात्कारपछि यातना दिएर मारेको अभियोगमा छ व्यक्तिलाई एउटा विशेष अदालतले दोषी ठहर गरेको छ।

गत वर्ष कश्मीरको कठुआमा फिरन्ते मुस्लिम समुदायकी ती बालिकाको शव जङ्गलनजिकै भेटिएको थियो।

उनको बलात्कार र हत्या गरेको आशङ्कामा आठ व्यक्तिलाई पक्राउ गरिएको थियो।

सो कदमको विरोधमा दक्षिणपन्थी हिन्दू समूह तथा वकिलहरूले प्रदर्शन गरेपछि सो विषयले ठूलो चर्चा पाएको थियो।

ती बालिकाकी आमाले दोषीमध्ये दुई जनालाई मृत्युदण्ड दिनुपर्ने माग गरेकी छन्।

नाबालक पनि दोषी

अभियुक्तहरूले आफू दोषी नभएको दाबी गरेका थिए।

तीमध्ये एकलाई दोषमुक्त गरिएको छ तर उनका बुवा भने दोषी ठहर भएका छन्।

दोषी ठहर हुनेहरूमा एक अवकाश प्राप्त सरकारी अधिकारी, चार प्रहरी अधिकारी र एक नाबालक छन्।

ती नाबालकलाई भारतको कानुन अनुसार छुट्टै मुद्दा चलाइनेछ।

बालिकाकी आमाले भूतपूर्व सरकारी कर्मचारी सान्जी राम र प्रहरी अधिकारी दीपक खजुरियाले घटना गराएको भन्दै उनीहरूलाई फाँसी दिनुपर्ने माग राखेकी छन्।

बीबीसीसँग कुरा गर्दै उनले भनिन्, “छोरीको अनुहार सम्झेर म अहिले पनि बिथोलिन्छु, त्यो पीडाले मलाई कहिल्यै छोड्ने छैन। उसको उमेरका अरू केटाकेटी खेलेको देख्दा मेरो मुटु चिरिन्छ।”

आक्रोश

ती बालिकामाथि भएको अत्याचारको विवरणले धेरैलाई विचलित बनाइदिएको थियो।

सत्तासीन भारतीय जनता पार्टीबाट मन्त्री रहेका दुई नेताहरूले आरोपितहरूको समर्थनमा निकालिएको र्‍यालीमा सहभागिता जनाएपछि भारतमा आक्रोश बढेको थियो।

सामाजिक सञ्जाल ट्विटरमा त्यसको र मूल घटनाको विरोधमा व्यापक निन्दा भयो। नेता, कलाकार, खेलाडी र सामाजिक जीवनमा ख्याति कमाएका धेरैले त्यस विषयमा टिप्पणी गरेका छन्।

कतिपयले ती बालिकाको मृत्युलाई केही वर्षअघि दिल्लीमा भएको २२ वर्षीया युवतीको सामूहिक बलात्कार र हत्यासँग तुलना गरेका थिए।

जग्गा विवाद

अभियुक्तहरू सबै घुमन्ते मुसलमान समुदायसँग भूमिविवाद भएको स्थानीय हिन्दू समुदायका सदस्य हुन्।

पीडित बालिकाको परिवार हिमाली क्षेत्रमा आफ्नो भेडीगोठ राख्ने घुमन्ते समुदायको हो।

हिउँदमा उनीहरू प्राय: जम्मू उपत्यका हुँदै अन्यत्र जान्छन्। उनीहरूले सार्वजनिक वनलाई चरनका रूपमा प्रयोग गर्ने हुँदा स्थानीयवासीसँग द्वन्द्वको स्थिति उत्पन्न हुने गरेको छ।

आरोपित व्यक्तिहरूले भेडीगोठालाको सो समुदायलाई लखेट्न खोजेको हुनसक्छ।

जम्मूका वकिलहरूले ती आरोपितविरुद्ध मुद्दा दर्ता हुन नदिन प्रहरीलाई स्थानीय अदालतमा प्रवेश गर्न लाग्दा छेक्ने प्रयास गरेका थिए।

(बीबीसी)