हिन्दू धर्मावलम्बीले घरमा कुश भित्र्याए - Himal Post Himal Post
  • १ माघ २०८२, बुधबार
  •      Wed Jan 14 2026
Logo

हिन्दू धर्मावलम्बीले घरमा कुश भित्र्याए



काठमाडौँ, १६ भदौ । हिन्दू धर्मावलम्बीले पूजाआजाका लागि वर्षदिनसम्म चाहिने कुश आज घरघरमा भित्र्याएका छन् ।
प्रत्येक वर्ष कुशे औँसीका दिन पूजा गरी भित्रइने कुश वर्ष दिनसम्म गरिने शुभकार्य तथा पीतृकार्यमा प्रयोग गरिन्छ । हिन्दू धर्मशास्त्रमा कुशलाई भगवान विष्णुको प्रतिकका रुपका स्वीकारिएको छ ।
श्रीस्वस्थानीको कथा अनुसार भगवान विष्णुले पतिब्रता बृन्दालाई छल गरी अस्तित्व लुटेपछि बृन्दाले विष्णुलाई चार किसिमका श्राप दिएकी थिइन् । त्यसमध्ये घाँस हुनुपर्ने श्राप पूरागर्नका लागि विष्णुले कुशको रुप धारण गर्नुभएको धार्मिक जनविश्वास छ ।
पुरोहितले आ–आफ्ना यजमानका घरमा कुश ल्याइदिने र त्यसलाई पूजा गरी पूजा कोठामा राखिने परम्परा छ । यसरी कुश घरभित्र ल्याउँदा शुभ हुने मान्यता राखिएको छ ।
संस्कृतिविद् डा विष्णु दाहालका अनुसार मानिस जन्मँदा, मर्दा तथा पूजा आजाका कार्यमा कुशलाई पवित्र पूजासामग्रीका रुपमा लिइएको छ । कुशविना पूजालगायत गरिने कार्य पूर्ण मानिँदैन ।
अन्धाअन्धी स्थानमा भक्तजनको घुइँचो

यसैबीच, महोत्तरीको गौशालाबाट प्राप्त समाचार अनुसार कुशेऔँसी अर्थात् बुबाको मुख हेर्ने दिनमा आज बिहानैदेखि महोत्तरी जिल्लाको बगडा गाउँ विकास समितिमा अवस्थित प्रसिद्ध ऐतिहासिक अन्धाअन्धी स्थानमा भक्तजनको घुइँचो लागेको छ ।

बुबाआमालाई आफ्ना सर्वश्व मान्ने र आमाबुबाकै सेवालाई महान धर्म मान्नेको आस्थाको केन्द्र मानिएको सो स्थानमा आज बुबाको मुख हेर्ने दिनमा भक्तजनको घुइँचो लागेको स्थानीयवासी बताउँछन् ।