रौतहटका १९ वर्षीय युवामा कोरोनाका लक्षण नै भेटिएनन् - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

रौतहटका १९ वर्षीय युवामा कोरोनाका लक्षण नै भेटिएनन्



काठमाडौं- रौतहटको ईशनाथ नगरपालिकामा एक युवकमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । तर उनीमा कोरोनाका कुनैपनि लक्षण नभेटिएको बताइएको छ।

सङ्क्रमित युवकमा लक्षण नदेखिए पनि आइसोलेसनमा राखिएको छ । संक्रमित युवक भारतको दिल्लीबाट १६ चैतमा नेपाल आएका थिए।

नेपाल र भारत दुवैतिर लकडाउन रहेको समयमा संक्रमित युवक नेपाल–भारत सीमानाका राति पार गरेर आफ्नो घर पुगेका थिए ।

रौतहटको ईशनाथ नपा ५ का १९ वर्षीय युवक गत १६ चैत राति घर आइपुगेका हुन् । भारतको राजधानी दिल्लीको पहाडगञ्जस्थित एउटा ब्याग उद्योगमा काम गर्ने युवक लकडाउनपछि उद्योग बन्द हुँदा घर आउन खोजेका थिए ।

पहाडगञ्जबाट अन्य सामान्य यात्रुहरु सरह १४ चैतमा उद्योगमा सँगै काम गर्ने चार जना युवक भारतको बिहारका मानिससित पैदलै हिंडेका थिए ।

उनीहरु मालवाहक ट्रक फेला पारेर भारतको बिहार प्रान्त पूर्वी चम्पारण जिल्लाको मोतिहारीसम्म आइपुगेका थिए ।

१६ गते बिहान मोतिहारीमा ओर्लेका सबैजना ४० किलोमिटर पैदल हिंडेर नेपाल भारत सिमानाको ईशनाथमा सोही दिन राति १० बजे आइपुगेका थिए चारैजना । संक्रमित युवकसँगै ईशनाथ ५ का अन्य दुई जना र ईशनाथ ६ का एक जना गरी चार जना थिए ।

ईशनाथमा नेपाल–भारत सीमाक्षेत्रमा करीब दुवैतिर टाँसिएका जस्तैगरी गाउँ रहेका छन् । यसैको फाइदा उठाएर चारैजना युवक घरमा आइपुग्न सफल भएका हुन् ।

भारतको दिल्लीबाट चारजना युवक घर आइपुगेको थाहा पाउने बित्तिकै स्थानीयले प्रहरीलाई खबर गरेपछि चारै जनालाई १७ गते बिहानै ईशनाथ नगरपालिकाको क्वारेन्टाइनमा राखिएको थियो ।

संक्रमित युवकसँगै बसमा आएका अन्य तीनजनाको रिपोर्ट भने निगेटिभ आएको ईशनाथ नपाका स्वास्थ्य संयोजक इशराजुल खानले जानकारी गराएका छन् ।

गत २८ चैतमा स्वास्थ्यकर्मीको टोलीले ईशनाथ नपाको क्वारेन्टिनमा रहेका २५ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकोमा १ जनाको पोजिटिभ र अन्य सबैको नेगेटिभ रिपोर्ट आएको खानको भनाइ छ ।

संक्रमित युवकमा अहिलेसम्म कोरोनाको लक्षण मानिने ज्वरो, खोकी, सास फेर्न गाह्रो हुने तथा घाँटी दुख्ने लगायत कुनै पनि समस्या नदेखिएको स्वास्थ्य संयोजक खानको भनाइ छ । संक्रमणको पुष्टि भएपछि युवकलाई आइसोलेसनमा राखिएको छ ।

ईशनाथ नपाको क्वारेन्टिनमा अहिले ३० जना रहेका छन् । क्वारेन्टिनमा रहेका अन्य मानिसहरु पनि झन् बढी सतर्क भएका छन् ।

जिल्लामा लकडाउनमा थप कडाइ गरिएको र सुरक्षा व्यवस्था पनि थप सुदृढ बनाइएको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे जानकारी गराएका छन् ।