ठगिदै बिदेशीने युवा - Himal Post Himal Post
  • २२ पुष २०८१, सोमबार
  •      Mon Jan 6 2025
Logo

ठगिदै बिदेशीने युवा



दाङ । तुलसीपुरका तीन युवा राजु केसी, सुरेन्द्र गुरुङ, विनोद गुरुङले जना बिदेशको यात्रा तय गरे ।
। बिदेश जाने निर्णय गरेका तीन युवाको भेट म्यानपावर एजेन्ट बाँकेका पशुपती खत्री संग भयो ।

खत्रीले पलाउ भन्ने देशमा पठाउने भन्दै तीनै जना वाट प्रतिव्यक्ति छ लाखका दरले १८ लाख रुपैयाँ लिए । बैदेशिक रोजगारमा पठाउने भन्दै पैसा लिएका खत्री अहिले फरार भएका छन् । ती युवाहरु सामी परियोजनामा सहयोग माग्नका लागि पुगे । परियोजनाका कार्यक्रम संयोजक किरण पोख्रेलले बैदेशिक रोजगार बिभागमा उजुरी गर्न भन्दै पठाएको बताए ।

पछिल्लो समयमा यसरी ठगिने युवाहरुको संख्या बढ्दो छ । वैदेशिक रोजगारमा पठाउने भन्दै लाखौ रुपैँयाहरु ठगेर भाग्ने गरेको पीडित युवाहरुले बताएका छन् । बैदेशिक रोजगारीमा जाने युवाहरु ठगिने क्रम वढदै गएको छ ।
विदेश जाने युवालाई विभिन्न प्रलोभनका साथ अनेक भ्रममा पारेर ठगी गरेको समय–समयमा सुनिन्छ । कामदारको माग बिना र श्रम स्वीकृति नलिई पैसा संकलन गर्ने मात्र उद्देश्यले विदेशी नागरिकलाई झिकाएर अन्तर्वार्ता लिने समूहनै वनाएर सक्रिय बनेको वैदेशिक रोजगारका क्रममा ठगिएकाहरु वताउछन् ।

यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ का ३२ बर्षिय डोजराज कालाथोकी सहित सात जना युवाहरु सामुहिक रुपमा ठगिनुभयो । तुलसीपुर विजौरीका बस्नेत पछिल्लो समय घोराही १५ मा बस्दै आएका विशाल बस्नेत सरकारी कोटाबाट डेनमार्क पठाउने भन्दै ती युवाहरुलाई ४५ लाख रुपैया ठगेका हुन् ।

तुलसीपुरका डोजराज कालाथोकी, अर्जुन बुढाथोकी, अर्जुन विक, सुर्य विसी, घनश्याम विष्ट, घोराहीका सुमन वली र रोल्पाका नवीन शाही डेनमार्क उड्नका लागि घरबाट विदा भएर काठमाण्डौ भए । बस्नेतले नै गोंगबु बसपार्कनजिक रहेको बाग्लुङ परिचय गेस्ट हाउसमा लगेर राखे । डेनमार्क पठाईदिने विशालकै सल्लाहमा युवाहरुले किनमेल गरे ।

माघ पाँच गते पठाउने योजना थियो । तर त्यो दिन नपठाएर विशालले सात गतेको अनलाईन टिकट नै देखाए । सात गते विमानस्थल जाने भनेर कान्तिपुर मल अगाडि आएर बिहानदेखि बस्नेतलाई युवाहरुले पर्खेर बसे । बिहान ११ः३० बजेसम्म आउछु भनेका विशाल बस्नेत त्यसपछि बेपत्ता भए ।

यसरी सात जना युवाहरुले डेनमार्क जाने बहानामा ४५ लाख रुपैया गुमाए । घोराही उपमहानगरपालिका वडा नं. १५ मा बस्दै आएका २७ बर्षीय विशाल बस्नेत सात जनासँग ४५ लाख रुपैयाँ असुलेर फरार छन । बस्नेतले घोराही १५ का २० वर्षीय सुमन वलीबाट सात लाख ५० हजार, तुलसीपुर १६ का २३ वर्षीय घनश्याम विष्टबाट सात लाख ५० हजार, ३२ वर्षीय डोजराज कालाथोकीबाट सात लाख, २० वर्षीय अर्जुन बुढाथोकीबाट ४ लाख, २३ वर्षीय अर्जुन बिकबाट सात लाख र २८ वर्षीय सूर्य विसीबाट ७ लाख ५० हजार र रोल्पाका नवीन शाहीबाट चार लाख रुपैया ठगी गरेका छन् । दाङमा अवैध रुपमा काम गर्दै आएको समूहले विदेश जानेलाई अनेक भ्रममा पारेर ठगी गरिरहेको पाइएको छ ।

एजेन्ट कार्यालयलाई पासपोर्ट संकलन गरेर मेनपावरको मुख्य कार्यालयमा पठाउने मात्र अधिकार हुन्छ । दाङमा भने एजेन्ट कार्यालयले पासपोर्ट संकलन पनि गर्ने र आर्थिक कारोबार पनि गर्ने गरेको पाइएको छ । यहाँ एजेन्ट कार्यालयले वैदेशिक रोजगारमा जाने सर्वसाधारणसँग तोकिएभन्दा बढी पैसा असुल्ने गरेका छन् । बैदेशिक रोजगारको क्रममा ठगिनेहरु धेरै छन् ।

आर्थिक बर्ष २०७३÷०७४ को साउन महिना देखि पुस महिना सम्म विभिन्न कारणले २० जना ठगिएको छन् । बैदेशिक रोजगारका लागि मरामर्श दिदै आएको सामी परियोजनाले छ महिनामा २० जना ठगिएको जानकारी दिएको छ । त्यस्तै गतवर्ष ८७ जना ठगीएका थिए । जसमा महिला तीन तथा पुरुष ८४ जना रहेको परियोजना कार्यक्रम संयोजक पोख्रेल बताउछन् ।

परियोजनाको कार्यालयमा बैदेशिक रोजगारमा जाँदा परामर्श लिनेको संख्या पनि धेरै छ । जस अन्तरर्गत यस वर्ष अहिले सम्म १३ सय ८५ जनालाई परामर्श दिएको कार्यक्रम संयोजक पोख्रेल बताए । यस्तै गत आर्थिक वर्ष २०७३÷०७४ मा तीन हजार सात सय १२ जनाले शेवा लिएका थिए ।

जसमा तीन हजार ८९ पुरुष संख्या थियो । भने छ सय ३३ महिला संख्या भएको कार्यालयले बताएको छ । युवा शक्ति विदेश पलायन हुने क्रम बढेसँगै बेथिती पनि बढेको छ । बैदेशिक रोजगारीको क्रममा ठगिएको भन्दै दिनहुँ प्रहरी र वैदेशिक रोजगार परामर्श केन्द्रमा उजुरी पर्ने क्रम पनि बढ्दो छ ।
सपना बोहोराको सहयोगमा