भारतले विश्वलाई युद्ध दिन्न, बुद्ध दिएको दिन्छ : मोदी - Himal Post Himal Post
  • २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
Logo

भारतले विश्वलाई युद्ध दिन्न, बुद्ध दिएको दिन्छ : मोदी



एजेन्सी- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले विश्वलाई युद्ध नभएर बुद्ध दिएको बताएका छन् ।

शुक्रबार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै मोदीले भने, ‘हामी त्यो देशका नागरिका हौँ, जसले विश्वलाई युद्ध होइन, बुद्ध दिएको छ । पूरा विश्वलाई शान्तिको सन्देश दिएको छ ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केवल १७ मिनेट मात्रै भाषण गरे पनि कैयौँ मुद्दा उठाएका छन् । उनले पाकिस्तानको नाम नलिइ घुमाउरो पारामा पाकिस्तानमाथि कडा टिप्पणी गरेका छन् ।

आतंकवाद पूरा विश्वका लागि खतरा भएको भन्दै उनले भने, ‘हाम्रो आवाजमा आतंकवादविरुद्ध विश्वलाई सतर्क गराउने गम्भीरता पनि छ र आक्रोश पनि ।’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवाद कुनै एक देशको समस्या मात्रै नभएर, पूरा विश्वकै समस्या भएकाले सबै एकजुट भएर यसविरुद्ध लड्नुपर्ने बताए । संयुक्त राष्ट्र संघको शान्ति मिसनमा भारतले सबैभन्दा ठूलो बलिदानी दिएको पनि मोदीले बताए ।

उनले भारत सरकारले अघि सारेका विभिन्न योजनाहरुको पनि चर्चा गरे । आयुष्मान भारत, सस्वच्छता अभियान, जनधन योजनालगायतका योजनाका बारेमा मोदीले चर्चा गरेका थिए ।

साथै उनले भारतीय नागरिकले लोकतान्त्रिक तरिकाले आफूलाई जनादेश दिएकाले आफू संयुक्त राष्ट्र संघको महासभामा भएको बताए । उनले भने, ‘यो वर्ष विश्वकै सबभन्द्या ठूलो चुनाव भयो । विश्वमा सबैभन्दा बढी नागरिकले भोट दिएर मलाई र मेरो सरकारलाई पहिलेभन्दा मजबुत जनादेश दिएका छन् । त्यही जनादेशका कारण म आज यूएनमा छु ।’

साथै मोदीले जलवायु परिवर्तनका लागि भारतको भूमिका निकै कम भएको पनि बताए । उनले भने, ‘यदि इतिहास र पर क्यापिटा इमिसन्सको नजरबाट हेर्ने हो भने ग्लोबल वार्मिङका लागि भारतको भूमिका एकदमै न्यून रहेको छ । तर यो समस्या समाधानका लागि कदम उठाउनेहरुमध्ये भारत एक अग्रणी देश हो ।’