युवा संघले भ्रष्टाचारविरुद्ध अभियान चलाउने - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

युवा संघले भ्रष्टाचारविरुद्ध अभियान चलाउने



काठमाडौं । सत्तारुढ दल नेकपाको युवा संगठन युवा संघ नेपालले भ्रष्टाचारविरुद्ध अभियान चलाउने भएको छ ।

२९औँ स्थापना दिवसको सन्दर्भमा संघको कार्यालय बुद्धनगरमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष रमेश पौडेलले युवा संघ र वाइसिएल एकतासँगै भ्रष्टाचारविरुद्धको अभियानमा लाग्ने बताएका हुन् ।

पार्टी शीर्ष नेताहरूको तयारीअनुसार ३ जेठसम्म युवा संगठनको एकता भइसक्ने उनको दाबी छ ।

‘भ्रष्टाचारविरुद्धको शून्य सहनशीलताको सरकारी नीतिलाई साकार पार्न आमयुवा अभियानकै रूपमा लाग्नेछन्,’ उनले भने, ‘सामाजिक विकृति र विसंगतिका विरुद्ध देशव्यापी जागरण अभियान सञ्चालन गर्ने तयारीमा छौँ ।’

एकतासँगै एक युवा एक रोजगारीको अभियानसमेत सञ्चालन हुने पौडेलले बताए । संघले राष्ट्रियता र जनजीविकाको सवालमा आवाज उठाउँदै आएको बताउँदै उनले आगामी दिनमा अझ सशक्त ढंगले अगाडि बढ्ने दाबीसमेत गरे ।

नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा संघले बुधबार २९औँ स्थापना दिवस मनाउँदै छ ।

विदेश भ्रमणमा रहेकाले संघका संस्थापक अध्यक्षसमेत रहेका नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली भने कार्यक्रममा उपस्थित हुनेछैनन् ।

राष्ट्रिय सभागृहमा हुने सभामा प्रचण्डसहित वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेल र महासचिव विष्णु पौडेलले सम्बोधन गर्नेछन् ।

अनेरास्ववियु र अखिल क्रान्तिकारीले सयुक्त रूपमा बुधबार विद्यार्थी दिवस मनाउने भएका छन् । भृकुटीमण्डपबाट प्रभातफेरी गरी भूगोलपार्कमा पुगेर कोण सभा गर्ने अखिल क्रान्तिकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए । हरेक वर्ष १ जेठमा दुवै संगठनले विद्यार्थी दिवस मनाउँदै आएका छन् ।