योगेश भट्टराईले भने: कोहीपनि माधव नेपाल समूहमा नलाग्नु - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

योगेश भट्टराईले भने: कोहीपनि माधव नेपाल समूहमा नलाग्नु



काठमाडौं– नेकपा एमालेका सचिव योगेश भट्टराईले कसैलाई पनि माधव नेपालको पक्षमा नलाग्न आह्वान गरेका छन् । पार्टी विभाजन गरेर नयाँ दल दर्ताका लागि माधव नेपालले निर्वाचन आयोगमा निवेदन दिएपछि नेपालको साथ् छाडेका भट्टराईले विभाजन पक्षमा नजान आह्वान गरेका हुन्।

सोमबार बिहानै पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा भएको छलफलपछि प्रतिक्रिया दिँदै बाहिर गएकाहरू पनि पार्टीमा फर्किनुपर्ने बताए । उनले सिधै नभनेपनि घुमाउरो पारामा विभाजनको पक्षमा नजान अपील गरे । एमाले विभाजन माधव नेपालको नेतृत्वमै भएको थियो ।

भट्टराईले उत्तेजनामा नआइकन धैर्यधारण गर्दै पार्टी एकताको ऐतिहासिक प्रक्रियामा सामेल हुन उनको आग्रह गरे।उनले पार्टी २०७५ जेठ २ को अवस्थामा फर्किने बताए। ‘त्यो कसरी हुन्छ भन्ने कुरा भोलिको बैठकबाट टुंग्याउँछौं’, उनले भने।

असार २७ गते भएको १० बुँदे सहमतिको कार्यान्वयको सन्दर्भमा मंगलबारको बैठकले योजना तयार गर्ने उनको भनाइ छ। मंगलबारको बैठकले नयाँ पार्टी गठनको प्रक्रियामा अघि बढेका नेताहरुलाई फिर्ता आउनको लागि आह्वान गर्ने पनि उनको भनाइ थियो।

आफूहरुले पार्टीभित्र संघर्ष गर्ने कुरामा साथ दिने भने पनि विभाजनको प्रक्रियामा साथ नदिने भनेर नेता माधवकुमार नेपाललाई पहिल्यै स्पष्ट पारिसकेको पनि भट्टराईले बताए।