योगेश भट्टराईले गरेको विवादित निर्णय प्रेम आलेले रोके - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

योगेश भट्टराईले गरेको विवादित निर्णय प्रेम आलेले रोके



काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको ठाडो निर्देशनपछि नारायणहिटी दरबार संग्रहालयमा बन्दै गरेको रेस्टुरेन्ट निर्माण रोकिएको छ । पूर्व मन्त्री योगेश भट्टराईको पहलमा बन्न लागेको रेस्टुरेन्टबारे चौतर्फी बिरोध भएपछि मन्त्री आलेले एक्सन लिएका हुन् ।

आलेको निर्देशनसँगै नारायणहिटी दरबार संग्रहालयका कार्यकारी निर्देशक भेषबहादुर दाहालले बि. म्यानेजमेन्टलाई निमार्ण कार्य रोक्न पत्र काटेका छन् ।

पत्रमा भनिएको छ, “संग्रहालय र बि. म्यानेजमेन्टको सम्भौता अनुसार रेस्टुरेन्ट बन्न थालेकामा सञ्चारमाध्यममा समाचार सम्प्रेषण भएर विवाद सिर्जना भएपछि मन्त्रालयको मौखिक आदेशअनुसार निर्माण कार्य रोक्न जानकारी गराइन्छ ।”

पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा एमाले सचिव योगेश भट्टराईको अथक प्रयासपछि नारायणहिटी दरबार संग्रहालयमा व्यापारी पसेका हुन् । पशुपति धर्मशालामा होटल सञ्चालन गर्दै आईरहेको बतास अर्गनाइजेशनले नारायणहिटी दरबारभित्र रेष्टुरेन्ट सञ्चालन गर्न लागेको हो ।

बतास अर्गनाइजेसन अन्तर्गतको बीपीएस लिजिङ एन्ड म्यानेजमेन्ट प्रालीले यतिबेला दरबारभित्र धमाधम रेष्टुरेन्टको संरचना बनाईरहेको छ ।

मासिक ५० हजार भाडा दिने गरि करिब १० रोपनी जमिन बतासलाई दिईएको हो । तत्कालीन मन्त्री भट्टराई र सचिव यादवप्रसाद कोइरालाले बताससँगको मिलेमतोमा नारायणहिटी संग्रहालय भित्र रेष्टुरेन्ट खोल्न दिने निर्णय गरेका हुन् ।

नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन सञ्चालन समितिको संरक्षक पर्यटन मन्त्री र अध्यक्ष सचिव रहने व्यवस्था छ । भट्टराई र अधिकारीकै जोडबलमा बतासले नारायणहिटी दरबार भित्र रेष्टुरेन्ट सञ्चालनको अनुमति पाएको हो ।