प्रविधि भन्छ: योगेश पर्यटनमन्त्री अझै बनेका छैनन् - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

प्रविधि भन्छ: योगेश पर्यटनमन्त्री अझै बनेका छैनन्



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्रीमा योगेश भट्टराईलाई नियुक्ति गरे । उनले बुधबार मन्त्रिपरिषद विस्तार गर्दै भट्टराईलाई पर्यटनमन्त्रीको जिम्मेवारी दिए । राष्ट्रपति भवन शितल निवासमा नवनियुक्त मन्त्री भट्टराईले पद तथा गोपनीयताको शपथ लिई सिंहदरवारस्थित मन्त्रालयमा आएर पदभार ग्रहण गरी आफ्नो काम थालिसके । तर प्रधानमन्त्री कार्यालयले भने अझै पर्यटनमन्त्रीका रुपमा योगेश भट्टराईलाई चिनेको छैन ।

आज बिहान १०:४५ बजेसम्म प्रधानमन्त्री कार्यालयको वेभसाइडमा प्रधानमन्त्री ओली नै संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्रीको समेत जिम्मेवारीमा रहेको सूचना राखिएको छ । बुधवार दिउसो मन्त्री नियुक्त भई चार बजे नै शपथ लिएपनि प्रधानमन्त्री कार्यालयले आफ्नो वेभसाइडलाई अपडेट नगर्दा गलत सूचना बाहिर गएको हो ।

अहिले पनि प्रधानमन्त्री कार्यालयको वेभसाइडमा भट्टराई मन्त्री भएको कुनै सूचना छैन । प्रधानमन्त्री कार्यालयमा रहेर काम नगर्ने, वरिपरी घुम्नेहरुको कार्यशैलीको शिकार भने प्रधानमन्त्री हुनुपरेको छ । अहिलेसम्म वेभसाइड हेर्नेहरुले उहाँलाई नै पर्यटनमन्त्रीका रुपमा समेत लिइरहेका छन ।