१८ वर्षमा जेल परेका योगेश यसरी बने मन्त्री
काठमाडौँ- विसं २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसारका क्रममा ताप्लेजुङमा भएको चुनावीसभालाई सम्बोधन गर्दै तत्कालीन नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘योगेशलाई जिताएर पठाउनुहोस्, म मन्त्री बनाउँछु’ भनेका थिए ।
निर्वाचनका क्रममा भट्टराई अत्यधिक मतका साथ विजयी भए । प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को वाम गठबन्धनले झण्डै दुई तिहाइ मत प्राप्त गरे । लगत्तै अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा मन्त्रिमण्डल गठन भयो ।
सो मन्त्रिमण्डलमा भट्टराई समेटिएनन । वाचाअनुसारको प्रतिबद्धता पूरा नभएको भन्दै कहिलेकाहीँ आलोचना पनि हुने गरेको थियो । अहिले आएर पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले बचन पुरा पनि गरेका छन् ।
प्रधानमन्त्री ओलीले भट्टराईलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नियुक्त गरेका छन् । आमा महेन्द्रादेवी र बुबा स्व. भीमलालका कान्छा छोराका रूपमा मध्यमवर्गीय परिवारमा उनको जन्म भएको थियो । उनि दुुई वर्षको छँदा नै बुबा बितेका थिए ।
मैवाखोला गाउँपालिकास्थित नारायणी निमाविमा कक्षा ७ सम्मको पढाइ सकेपछि उनले सङ्खुवासभाको मादी माविबाट एसएलसी उत्तीर्ण गरे । विसं २०३६ को विद्यार्थी आन्दोलनको रापताप विस्तारै गाउँसम्म फैलिँदै थियो । पञ्चायती व्यवस्थाविरुद्ध गाउँगाउँबाट उठ्नुपर्ने सन्देश मादीसम्म त्यतिबेला पुगिसकेको थियो । पञ्चायती व्यवस्थाविरुद्ध २०३७ चैत १४ मा पहिलोपटक अनेरास्ववियुले आयोजना गरेको अमहड्तालमा उनि सक्रिय सहभागी भए । संगठित हिसाबले उनले राजनीतिक यात्राको आरम्भ पनि त्यही थियो ।
एसएलसीपछि उच्च शिक्षाका लागि विसं २०४० मा मन्त्री भट्टराई राजधानीको ताहाचलस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसमा भर्ना भए । पञ्चायती व्यवस्था विरोधी आन्दोलनका क्रममा (विषाक्त दूधका विरुद्धको आन्दोलन) १८ वर्षको उमेरमा नै उनि पहिलोपटक काठमाडौँको केन्द्रीय कारागारमा थुनिए । विसं २०४१ मा महेन्द्ररत्न क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा उपसभापति र विसं २०४३ मा सभापतिमा विजयी भए ।
पञ्चायती व्यवस्था र राजतन्त्रविरुद्ध दृढतापूर्वक अघि बढ्दै जाँदा उनले थुप्रैपटक जेलनेल र कठोर यातनासमेत भोगेका थिए । जेल बसाइँका बेला झापा सङ्घर्षका चर्चित अगुवा हालका प्रधानमन्त्री ओली, आरके मैनाली, मोहनचन्द्र अधिकारीलगायत राजनीतिक बन्दीसँग नजिकबाट अन्तक्र्रिया गर्ने अवसर उनले पाए ।
मन्त्री भट्टराईले अनेरास्ववियुको काठमाडौँ जिल्ला कमिटीको सदस्य तथा वाग्मती अञ्चल कमिटीको सचिवको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरे । उनले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र÷मानवशास्त्रमा स्नातकोत्तर गरेका छन् ।
उनि विसं २०४६ को जनआन्दोलनमा सक्रियरूपमा सहभागी भए । विसं २०४६ देखि अनेरास्ववियूको केन्द्रीय कमिटीमा काम गरेका उनले सङ्गठनको कार्यालय सचिव, प्रचार विभाग प्रमुख, सचिव र महासचिव हुँदै २०५१ देखि विसं २०५६ सम्म अध्यक्ष बने ।
उनि नेपाली राष्ट्रियताको पक्षमा सङ्गठित ढङ्गले आवाज बुलन्द गर्ने एक देशभक्त तथा राष्ट्रवादी नेताका रूपमा चिनिन्छन। उनकै नेतृत्वमा भारतले कब्जा गरेको नेपाली भूमि कालापानी फिर्ता गर्न विसं २०५५ जेठमा काठमाडौँ देखि दार्चुलाको कालापानीसम्म काठमाडौँ–कालापानी मार्च अभियान सञ्चालन भएको थियो ।
त्यस्तै उनले विसं २०४५ मा भारतले नेपालमाथि गरेको नाकाबन्दीविरुद्ध विद्यार्थी नेताका रूपमा आन्दोलनको अगुवाइसमेत गरे । मन्त्री भट्टराईले विसं २०६२÷६३ मा सम्पन्न ऐतिहासिक जनान्दोलनमा नेकपा (एमाले) को काठमाडौँ उपत्यका कमिटीको सचिवका रूपमा आन्दोलनको संयोजन र परिचालनमा कमान्डरको भूमिका निर्वाह गरे ।
विसं २०३९ देखि तत्कालीन नेकपा (माले) सँग राजनीतिक सम्पर्कमा रहेर पार्टी काममा संलग्न रहेका उनि पार्टीको सेल कमिटी हुँदै जिल्ला, अञ्चल र केन्द्रीय कमिटी हुँदै विसं २०६५ फागुनमा बुटवलमा सम्पन्न तत्कालीन नेकपा (एमाले) को आठौँ महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भए । पार्टीको नवौँ महाधिवेशनबाट उनि सचिवमा निर्वाचित भए ।
तत्कालीन एमालेको प्रचार विभाग प्रमुख रहेका उनि अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य छन् । उनले विसं २०५१ मा ताप्लेजुङ ढुङ्गेसाँघु निवासी बिन्दा घिमिरेसँग विवाह गरे । ताप्लेजुङको समग्र विकासका निम्ति उनकै सक्रियता र अगुवाइमा विसं २०६४ मा ‘ताप्लेजुङ सरोकार केन्द्र’को स्थापना भएको थियो । उनि त्यसका संस्थापक महासचिव हुन्। रासस