योगेश भट्टराईले ठाउँ पुगेन भन्दै जग्गा दान मागेपछि... - Himal Post Himal Post
  • १५ असार २०८३, सोमबार
  •      Mon Jun 29 2026
Logo

योगेश भट्टराईले ठाउँ पुगेन भन्दै जग्गा दान मागेपछि…



पाँचथर : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सरकारलाई जग्गा दान दिन आग्रह गरेका छन् । तेह्रथुमको आठ्राई गाउँपालिकाको चुहानडाँडामा विमानस्थल निमार्णका लागि जग्गा दान गर्न आठ्राइबासीलाई आह्वान गरेका छन्।

विमानस्थलको अवलोकनका लागि बिहीबार पुगेका उनले हाल विमानस्थल निर्माणका लागि प्राप्त जग्गा साढे ५ सय मिटर रहेको र करिब ९ सय मिटर जग्गा आवश्यक पर्ने भएकोले जग्गा दान दिन भनेका हुन्। तर, उनले दान गर्ने होइन त अलिअलि जग्गा भन्दा, आठ्राईबासीले ‘चित्त बुझेन’ भनेका थिए। यसपछि मन्त्री भट्टराईले भने विमानस्थल बनाउनु भन्ने अनि जग्गा अलिकति देउ भन्दा चित्त बुझेन भन्न त मिलेन नि भने।

जग्गा अपूग नै हुने भन्दै उनले बसेर छलफल गर्ने बताए। ‘कमसेकम ९ सय मिटर त हुनुपर्छ। तपाईंहरू फेरि धनी मान्छे हुनुहुन्छ। सम्पन्न हुनुहुन्छ’ उनले भने, ‘अलिअलि जग्गा दिँदा केही बिग्रिँदैन। विमानस्थल बनिहाल्छ।’ विमानस्थल निर्माणको काम थालेको दुईदेखि तीन वर्षभित्रमा सम्पूर्ण ढंगले निर्माण पूरा हुने पनि आवश्वान दिए। निर्माण भएपछि तेह्रथुमसहित छिमेकी जिल्ला पाँचथर, ताप्लेजुङ र धनकुटाका वासिन्दा पनि लाभान्वित हुने बताए। यसले गर्दा यसै आर्थिक वर्षभित्र सकेसम्म विमानस्थल निर्माण कार्यका लागि टेण्डर निकाल्ने कोशिस गर्ने बताए।

टेण्डर निकाल्ने अवस्था भएन भनेपनि चुहानडाँडामा विमानस्थल बन्छ भनेर ढुक्क रहन आग्रह गरे। तर, निर्माण गरिने भनिएको चुहानडाँडा विमानस्थल क्षेत्रमा वातावरणीय प्रभाव मूल्यांकन भने बाँकी छ। मन्त्री भट्टराईले अबको वातावरणीय प्रभाव मूल्यांकनदेखि अरू सबै प्रक्रियागत काम ५/७ महिनामा सक्ने गरी तयारी भइरहेको दाबी गरे। उनका अनुसार यसका लागि सबै काम अगाडि बढिसकेको छ। ‘विमानस्थल निर्माणका लागि स्थलगत अध्यय्न गर्नुपर्‍यो। प्रतिवेदन बनाउनु पर्‍यो। थुप्रै कामहरू हुन्छन्। अनि मात्र निर्माणको चरणमा काम बढ्छ’ उनले भने ‘तर, हामीलाई लाग्छ कि एअरपोर्ट बनाउने अथवा कुनै पनि काम गर्न भनेपछि डोजर आएर खन्न थाल्यो कि थालेन भन्ने मात्रै हेर्छौं, त्यो निक्कै पछाडिको काम हो।’