विवादमा परेपछि बोली फेर्दै योगेश भट्टराई - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

विवादमा परेपछि बोली फेर्दै योगेश भट्टराई



काठमाडौँ- पूर्वपर्यटनमन्त्री तथा एमालेका नेता योगेश भट्टराईले केहिदिनमै बोली फेरेका छन् । नारायणहिटी सङ्ग्रहालय परिसरमा क्यान्टिन खोल्न अनुमति दिएका भट्टराईले विवादमा तानिएपछि बोली फेरेका हुन् ।

केहिदिन अगाडी मात्रै सामाजिक सञ्जालमा नारायणहिटीभित्र रेस्टुरेन्ट खोल्न आफूले कुनै सहमति नदिएको बन्दै प्रमाण सार्वजनिक गर्न चेतावनी दिएका उनले एक टेलिभिजनमा भने रेस्टुरेन्ट खोल्न आफूले निर्देशन दिएको स्विकारेका छन्।

सङ्ग्रहालयभित्र क्याफेटेरिया खोल्ने आवरणमा रेस्टुरेन्ट खोल्न खोज्ने बतास समूहको प्रयास विवादमा आए लगत्तै सामाजिक सञ्जालमा ‘त्यस सम्बन्धी कुनै पनि निर्णयमा मेरो संलग्नता नरहेको’ दाबी गरेका उनले बुधवार सङ्ग्रहालय विकास समितिको निर्देशक भेषनारायण दाहाललाई क्यान्टिन/खाजा घर/क्याफेटेरिया सञ्चालन गर्न निर्देशन दिएको स्विकारे।

‘मन्त्री भएपछि दरबार घुम्नेक्रममा रातो घर देखेपछि केका लागि बनाएको भनेर सोधेको थिए,’प्राइम टाइम टेलिभिजनसँगको अन्तर्वार्तामा उनले भने’ क्यान्टिनको लागि भवन बनाएको भनेपछि तत्काल सञ्चालनमा ल्याउनुस् भनेको हो।’

नारायणहिटीमा क्याफे खोल्ने सम्बन्धी कुनै पनि निर्णयमा संलग्न नभएको र त्यसबारेको कुनै पनि निर्णय जानकारीमा नरहेको दाबी गर्दै उनले ट्विट गरेपछि ‘नारायणहिटी परिसरमा क्याफेटेरिया बन्न सक्छ’ भनेर उनले दिएको अभिव्यक्तिको भिज्योल भाइरल भएको थियो।

धेरै आलोचना भएपछि उनले ट्विट मेटाएका छन्। उनले अन्तर्वार्तामा संसदीय समितिमा आफूले क्याफेटेरियाबारे बोलेको स्विकारे। उनले सङ्ग्रहालय परिसरमा क्यान्टिन चाहिने भन्दै रेस्टुरेन्टबारे भने जानकारी नभएको उनले दाबी गरे।

निर्देशन दिएपछि सङ्ग्रहालयले के गर्‍यो, कसलाई ठेक्कामा दियो केही जानकारी नभएको र विवाद आएपछि मात्रै बतास समूहले पाएकोबारे जानकारी भएको उनको दाबी थियो।

उनले क्याफेटेरिया चलाउने भवन माधव नेपाल प्रधानमन्त्री भएको बेलामा बन्न सुरु भएर झलनाथ खनालको बेलामा सकिएको बताए। उनले सङ्ग्रहालय परिसरमा रेस्टुरेन्ट अनि होटेल नभई क्याफेटेरिया भने चाहिने बताउँदै अहिले भइरहेको विवादमा आफ्नो संलग्नता नभएको र कसैले संलग्नता देखाए सजाय भोग्नुपर्ने बताएका थिए।

नारायणहिटी भित्र क्याफेटेरिया खोल्ने आवरणमा बेलुका १० बजेसम्म खोल्न पाउने अनि बङ्कर भित्र समेत रेस्टुरेन्ट चलाउने गरी भौतिक संरचना बनाएको खुलासापछि बताससँग समितिले गरेको सम्झौता विवादमा आयो।

नारायणहिटी परिसरमा बतासले अवैध संरचना बनाइरहेकोबारे सरकारी मुख पत्र गोरखापत्रले लेखेको थियो। त्यसपछि अन्य मिडियाले पनि फलो गरे।

योगेशले भने व्यापारीको स्वार्थमा समाचार आएको र आफ्नो सार्वजनिक छविमा क्षति पुर्‍याउने प्रयास भएको दाबी गरे। सन्चारकर्मी र सन्चारमाध्यमप्रति निकै रिसाएका उनले नारायणहिटी प्रकरणलाई चन्द्रागिरि केबलकारबारे एक मिडियाले लेखेको समाचारसँग लगेर जोड्दै अहिले पनि त्यही गर्ने प्रयास भएको दाबी गरे।

‘जोसँग जे लिनुछ लिए भयो त। सङ्घर्ष गरेर बनेको मेरो सार्वजनिक छवि किन बिगार्नु?,’ म संलग्नै नभएको विषयमा मलाई किन तान्नु?’ उनले सन्चारकर्मी र सञ्चार माध्यमलाई लक्षित गर्दै भने’ जोसँग रक्सी खानु छ खाए हुन्छ। विज्ञापन लिए हुन्छ। तर यस्तोमा म जस्तो सङ्घर्ष गरेर राजनीतिमा आएकाको छवि धमिल्याउने प्रयास किन गर्नु ?’

योगेश अन्तर्वार्तामा पर्यटनमन्त्री प्रेम आलेसँग रिसाए। अन्तर्वार्ताकार ऋषि धमलाले उनलाई अब कारबाही गर्ने रे भन्दै उनलाई उक्साइरहेका थिए।

उनले आफू काठ तस्करी गरेर राजनीतिमा नआएको भन्दै पर्यटनमन्त्री आले विदेशबाट आउँदाको अध्यागमनको भिभिआइपी कक्षको सिसिटिभी फुटेज सार्वजनिक गर्न समेत माग गरे।

विदेशबाट आउँदा आफू १०-१२ बोतल रक्सी ल्याउने अन्यले ल्याएको २-३ बोतल फुटाउन लगाउने मन्त्री आफू नभएको भन्दै उनले अन्तर्वार्ताकार धमलालाई भने’ तपाईँले नाम लिएकाहरू पञ्चायतको गान गाएर बस्दा म पञ्चायतविरुद्ध आन्दोलन गरेर जेलमा थिए। उनीहरू र मेरो पृष्ठभूमि मिल्छ ? म त्यसरी नै राजनीतिमा आएको हुँ ?’