विश्वप्रकाश र योगेशको जुहारी: कमरेड डिक्सनेरी पार्सल गरुँ ? - Himal Post Himal Post
  • ७ माघ २०८१, सोमबार
  •      Mon Jan 20 2025
Logo

विश्वप्रकाश र योगेशको जुहारी: कमरेड डिक्सनेरी पार्सल गरुँ ?



काठमाडौं । तनहुँमा आइतबार कांग्रेस नेता डा. मीनेन्द्र रिजालमाथि भएको आक्रमणलाई लिएर कांग्रेस नेता विश्वप्रकाश शर्मा र नेकपाका नेता योगेश भट्टराईबीच सामाजिक सञ्जालमा जुहारी चलेको छ ।

कांग्रेसका प्रवक्तासमेत रहेका शर्माले पर्यटन तथा नागरिक उड्डयनमन्त्री समेत रहेका भट्टराईलाई तीतो नबोल्न सुझाव दिएका छन् । भट्टराईले कांग्रेसलाई इंगित गर्दै अराजकताको घोडा चढ्न नसुहाउने टिप्पणी गरेपछि शर्माले यस्तो सुझाव दिएका हुन् ।

शर्माले आज ट्विट गर्दै मन्त्री भट्टराईलाई सरकारमा रहेका अन्य मन्त्रीहरु भन्दा फरक बन्न पनि आग्रह गरेका छन् । शर्माले उनलाई २०४८–०५० मा तत्कालीन नेकपा एमाले प्रतिपक्षमा रहँदाको अवस्था पनि स्मरण गराएका छन् ।

“तपाईं अलि फरक बन्नोस् @yogesbhattarai । सरकारमा बसेर तितो बोल्ने ‘बहादुरी’ अरुले गरिरहेकै छन् नि ! अधिनायक आकांक्षाको घोडामा थपिएर शालिन प्रतिपक्षलाई अराजक देख्न थाल्दाचैँ कमरेड म सम्झन्छु– ०४८–०५० को प्रतिपक्षको ध्वंस । के गरुँ शब्द परिभाषा बुझ्न ‘डिक्सनेरी’ पार्सल गरुँ ?,” कांग्रेस प्रवक्ता शर्माले भनेका छन् ।

यसअघि मन्त्री भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा कांग्रेसलाई इंगित गरेर अराजकतावादको घोडा चढ्न नसुहाउने लेखेका थिए, “लोकतन्त्रवादीले अराजकतावादको घोडा चढ्न सुहाउँदैन । यो सिंहमाथि सवार हुनुजस्तै हो । चढ्ने बेलामा जोखिम, चढिसक्दा जोखिम अनि झर्ने बेलामा त झन् जोखिम ।”

भ्रष्टाचार विरोधी अभियान सञ्चालन गर्दै आएका ज्ञानेन्द्र शाहीमाथि चितवनमा भएको कुटपिटको घटनामा कांग्रेसले विरोध गरेपछि मन्त्री भट्टराईको यस्तो टिप्पणी आएको थियो ।